Technology Khabar १७ कार्तिक २०८१, शनिबार
काठमाडौं ।
ओपनएआईले बिहीबार आफ्नो लोकप्रिय लार्ज ल्याङ्ग्वेज मोडल च्याटजीपीटीमा नयाँ सर्च फङ्शनहरू थपेको छ। विशेष रूपमा छुट्टै उत्पादन सुरू गर्नुको सट्टा यसलाई च्याटबटमा एकीकृत गर्ने निर्णय गरेको बुझिएको छ।
यो एआई जायन्टले अल्फाबेटको लामो समयदेखि प्रभुत्व रहेको क्षेत्रमा कदम चालेको छ जसले ओपनएआई को लगानीकर्ता माइक्रोसफ्टको बिङ र अमेजनका संस्थापक जेफ बेजोस र सेमीकण्डक्टर कम्पनी एनभिडियाको समर्थन प्राप्त रहेको पर्प्लेक्सिटी जस्ता उदीयमान सेवाहरूसँग पनि प्रतिस्पर्धा गरिरहेको छ।
यो निशुल्क प्रयोगकर्ताहरूका लागि आउने महिनाहरूमा जारी गरिएपछि व्यवसायिक र शैक्षिक ग्राहकहरूले आगामी हप्ताहरूमा यी विशेषताहरू पहुँच गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।
साम अल्टम्यानको नेतृत्वमा रहेको यो स्टार्टअपले यस वर्ष Condé Nast, टाइम म्यागाजिन, फाइनान्सियल टाइम्स,बिजनेस इन्साइडरको मूल कम्पनी एक्सेल स्प्रिङ्गर, फ्रान्सको ल मोण्डे र स्पेनको प्रिसा मिडियासहित धेरै प्रकाशकहरूसँग सामग्री सम्झौता गरेको छ।
ओपनएआईले ‘सर्च’ कार्यको लागि समाचार उद्योगसँग व्यापक रूपमा सहकार्य गरेको र आफ्ना साझेदारहरूबाट प्रतिक्रिया सङ्कलन गरेको बताएको छ। कुनै पनि वेबसाइट वा प्रकाशकले च्याटजीपीटीको सर्चमा देखा पर्ने विकल्प रोज्न सक्ने जनाइएको छ।
गत जुलाईमा ओपनएआईले सर्चजीपीटी नामक वास्तविक समयमा इन्टरनेटबाट जानकारी प्राप्त गर्ने एएटा एआई-सञ्चालित खोज इन्जिनको प्रोटोटाइप सुरू गरेको थियो।
अक्टोबरको सुरूमा कम्पनीले लगानीकर्ताहरूबाट ६.६ अर्ब डलरको कोष सङ्कलन गरेको थियो जसले कम्पनीलाई १५७ अर्ब डलरको मूल्याङ्कनको साथ संसारको सबैभन्दा मूल्यवान निजी कम्पनीमध्ये एकको रूपमा आफ्नो स्थिति बलियो बनाउन सघाएको रोयटर्सले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८१, शनिबार