पहिलो पटक फेला पर्यो ‘ट्रिपल’ ब्ल्याक होल

Technology Khabar १० कार्तिक २०८१, शनिबार

पहिलो पटक फेला पर्यो ‘ट्रिपल’ ब्ल्याक होल
Global IME Bank

काठमाडौं ।

खगोलविद्हरूले पहिलो पटक “ब्ल्याक होल ट्रिपल” प्रणाली पत्ता लगाएका छन्, जसमा एउटा ब्ल्याक होलले आफ्नो साथी तारालाई खाइरहेको छ, जबकि अर्को टाढाको ताराले सतर्क भएर त्यसलाई परिक्रमा गरिरहेको छ।

ब्ल्याक होलहरू विशाल ताराहरूको सुपरनोभा विस्फोटबाट हुने हिंसात्मक मृत्युपछि बन्ने गर्छन् तर यो आश्चर्यजनक खोजले “डाइरेक्ट कोलाप्स” भनिने एक शान्त प्रक्रिया द्वारा ब्ल्याक होलको जन्म हुनसक्ने सम्भावना देखाउँछ।

स्पेस डटकमका अनुसार यदि यो ब्ल्याक होलको उत्पत्ति हिंसात्मक भएको भए त्यसले “उत्पत्ति हुनुअघिको धक्का” दिन्थ्यो, जसले टाढाको तारालाई यस त्रिगुणात्मक प्रणालीबाट बाहिर निकालिदिन सक्थ्यो।

यो प्रणाली V404 Cygni हो, जुन हाम्रो मिल्की वे आकाशगंगाभित्र पृथ्वीबाट करिब ८,००० प्रकाशवर्ष टाढा अवस्थित छ।

ब्ल्याक होलले आफ्नो पीडित तारालाई खाइरहेको यो “एक्स-रे बाइनरी” प्रणाली पहिलेदेखि नै चिनिन्थ्यो र यो प्रणाली राम्रोसँग अध्ययन गरिएको थियो। तर, म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का केभिन बर्जको नेतृत्वमा गरिएको गहिरो अनुसन्धानले यो बाइनरी वास्तवमा एक त्रिगुणात्मक ताराप्रणालीको केन्द्रमा रहेको पुष्टि गर्‍यो।

वैज्ञानिकहरूले प्रायः ब्ल्याक होलहरू ताराहरूको हिंसात्मक विस्फोटबाट बन्छ भन्ने गर्छन्, तर यो खोजले त्यसलाई चुनौती दिने देखिन्छ।
“यो प्रणाली ब्ल्याक होलको विकासको लागि अत्यन्तै रोमाञ्चक छ, र यसले अरू त्रिगुणात्मक अर्थात् तीन चम्के प्रणालीहरू पनि हुन सक्छन् कि भनेर प्रश्न उठाउँछ,” बर्जले स्पेस डट कमलाई इमेलमार्फत बताए।

“यो तारा अझै पनि यस प्रणालीसँग बाँधिएको हुनु अचम्मको कुरा हो, किनकि यसले यसलाई कम-ऊर्जा जन्मजात धक्का प्राप्त भएको संकेत गर्दछ।”

“सामान्यतया, ब्ल्याक होलहरू त्रिगुणात्मक प्रणालीमा हुनु आश्चर्यजनक कुरा होइन, किनकि धेरै ठूला ताराहरू त्रिगुणात्मक प्रणालीमा हुन्छन्। तर आश्चर्यजनक कुरा के हो भने, यो प्रणालीले ब्ल्याक होल बनेपछि पनि त्रिगुणात्मक प्रणालीलाई कायम राख्न सकेको छ,” अनुसन्धान टोलीले भन्यो।

ब्ल्याक होलको “पीडित तारा” ले ६.५ पृथ्वी दिनमा ब्ल्याक होलको परिक्रमा गर्छ, तर यस प्रणालीमा हालै पत्ता लागेको तेस्रो तारा यति टाढा छ कि यसले ब्ल्याक होलको एक परिक्रमा पूरा गर्न करिब ७०,००० पृथ्वी वर्ष लाग्ने टोलीले पत्ता लगाएको छ।

“यो खोज वास्तवमा एउटा संयोग मात्र थियो! म V404 Cygni को एउटा तस्वीर हेरिरहेको थिएँ र यो त्रिगुणात्मक प्रणालीमा रहेको थाहा पाएँ,” बर्जले भने। “हामीले त्यसपछि V404 Cygni मा रहेको ब्ल्याक होल सम्भवतः जन्मजात धक्का अर्थात् नेटल किकबिना नै बनेको थियो भन्ने पत्ता लगायौं।

“यसको अर्थ सबै ब्ल्याक होलहरूले जन्मजात धक्का प्राप्त गर्दैनन् भन्ने होइन, तर कम्तीमा केही ब्ल्याक होलहरू बिना पनि बन्न सक्छन् भन्ने देखाउँछ।” टोलीको अनुसन्धान बुधबार (अक्टोबर २३) मा नेचर पत्रिकामा प्रकाशित गरिएको छ।

प्रसिद्ध ब्ल्याक होलले अझै रहस्यहरू लुकाइरहेको छ

खगोलविद्हरूले शताब्दीयौंसम्म ठूला ताराहरूले आफ्नो परमाणु ईन्धन सकाएर र आफ्नो गुरुत्वाकर्षणको विरूद्ध आफैंलाई समर्थन गर्न नसकेपछि सुपरनोभा विस्फोटसँगै तिनीहरुको मृत्यु हुन्छ भन्ने थाहा पाएका छन्।

जब आइन्स्टाइनको सामान्य सापेक्षता सिद्धान्तले वैज्ञानिकहरूलाई ब्ल्याक होल र न्युट्रोन तारा पत्ता लगाउने मार्गमा पुर्‍यायो, यी उज्यालो र हिंसात्मक ब्रह्माण्डीय विस्फोटहरू तुरुन्तै यी अल्ट्राडेन्स ताराहरूको जन्म प्रक्रियासँग जोडिए।

यी घटनाहरूको शक्ति यति तीव्र हुन्छ कि तिनीहरू अक्सर आफ्नो वरपरको आकाशगंगाका सबै ताराहरूको संयुक्त प्रकाशभन्दा उज्यालो हुन्छन्। यसले गर्दा यी विस्फोटले आफ्नो परिक्रमा गरिरहेका ताराहरूलाई शक्तिशाली ऊर्जा दिनेछ।

“जन्म हुनुअघिका धक्काहरू भनेको ब्ल्याक होलले जन्मपछि प्राप्त गर्ने कुल गति हो,” बर्जले भने। “उदाहरणका लागि, यदि तपाईंले एक सुपरनोभा लिने हो भने र पदार्थ असमान रूपमा बाहिर निस्कन्छ भने, गतिशीलता संरक्षण गर्नको लागि, ब्ल्याक होलले त्यो पदार्थको विपरीत दिशामा धक्का पाउँछ।”

बर्जका अनुसार यी जन्म अर्थात् उत्पत्तिअघिका धक्काहरूलाई मापन गर्न कठिन छ किनकि हाम्रो मिल्की वेमा निकै थोरै ब्ल्याक होलहरू मात्र चिनिएका छन्, र तिनलाई मापन गर्न थोरै मात्र प्रभावकारी तरिकाहरू छन्। तर, यस प्रणालीजस्तै एउटा फराकिलो त्रिगुणात्मक साथी तारा रहेको अवस्थामा मात्र यी धक्काहरूको मापन सम्भव हुन सक्ने स्पेस डटकमले उल्लेख गरेको छ।

कुनै पनि नयाँ बनेको ब्ल्याक होलसँग गुरुत्वाकर्षणको माध्यमबाट बलियोसँग बाँधिएको ताराले सुपरनोभा विस्फोटबाट प्राप्त हुने ऊर्जा सहन सक्छ र प्रणालीभित्र नै रहन सक्छ। तर, गुरुत्वाकर्षणको बल लामो दूरीमा चाँडै कम हुन्छ, जसको अर्थ, टाढा रहेका र ब्ल्याक होलले कडा रूपमा थाम्न नसकेका ताराहरलाई प्रायः “दुष्ट तारा” अर्थात् रोग स्टारको रूपमा ब्रह्माण्डमा भौँतारिन निकालिदिन्छ।

“कल्पना गर्नुहोस् तपाईंले एउटा चङ्गालाई तानिरहनु भएको छ, तर बलियो डोरीको सट्टा तपाईंले एउटा माकुराको जालले तानिरहनु भएको छ,” बर्जले एमआईटीबाट प्रकाशित बयानमा भने। “यदि तपाईंले धेरै बलपूर्वक तान्नुभयो भने, त्यो जाल चुँडिन्छ र तपाईंले चङ्गालाई गुमाउनु हुनेछ। गुरुत्वाकर्षण पनि यस अस्थिर डोरीजस्तै कमजोर हुन्छ, र यदि तपाईंले आन्तरिक बाइनरीमा केही नाटकीय गरेमा, तपाईंले बाहिरी तारालाई गुमाउनु हुनेछ।”

तर यो ब्ल्याक होल त्रिगुणात्मक प्रणालीमा यस्तो भएको छैन।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० कार्तिक २०८१, शनिबार