काठमाडौं ।
आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य सङ्ख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन्। सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा पर्ने गरेको छ। डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा निम्न विषयमा जानकार भई अत्यन्त सजगताका अपनाउन नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।
- डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रूपमा पासवर्ड वा पिन ले लक गर्ने।
- डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आईडी (Login ID), युजरनेम (Username), पासवर्ड, पिन जस्ता व्यक्तिगत विवरण कसैलाई नदिने।
- इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिस्टर गरिएका इमेलका साथै आफ्ना डिभाइसमा लामो समयसम्म एउटै पासवर्ड/पिनहरू समय समयमा परिवर्तन गरिरहने।
- अरूले अनुमान गर्नसक्ने किसिमका सामान्य पासवर्ड प्रयोग नगर्ने, सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने।
- कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने।
- आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एपको मात्र प्रयोग गर्ने। यस्ता सम्वेदनशील विषयमा लापरवाह हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न सकिने भएकोले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैंक सबैलाई अनुरोध गरेको छ।
प्रकाशित: ७ कार्तिक २०८१, बुधबार