Technology Khabar २ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्शदाता छनौटका लागि सम्बन्धित व्यक्ति तथा संघसंस्थाबाट दरखास्त आह्वान गरेको छ। हालै एक सूचना जारी गरेर प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि आईएस अर्थात् इन्टरनेट सुरक्षा अडिटर तथा क्लाउड अडिटरको सूचीमा संलग्न हुन आवेदन माग गरेको हो।
प्राधिकरणले साइबर सुरक्षा परामर्श/अडिट सेवा दिँदै आएका संघसंस्थालाई आईएस अडिटर/क्लाउडका रुपमा सूचीबद्ध गर्न लागेको हो। सूचीबद्ध हुन सफल संस्थाले साइबर सुरक्षा विनियमावली २०७७ को बुँदा ५५ तथा ५७ ४ मा तोकिए बमोजिमको कार्य गर्नुपर्ने सूचनामा उल्लेख छ।
ती कार्यहरुमा इन्फर्मेसन सेक्युरिटी (आईएस) अडिट वा क्लाउड सेक्युरिटी अडिट गर्नुपर्नेछ। यसमा दूरसञ्चार सेवा प्रदायक, मोबाइल अपरेटर, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकजस्ता लाइसेन्स लिएका कम्पनीहरूको अडिट समावेश हुने प्राधिकरणले जनाएको छ।
लाइसन्स लिएका कम्पनीहरूसाइबर सुरक्षा परामर्श/अडिट सेवाहरूका लागि आफ्नो विशेष सीप र अनुभवको आधारमा आवश्यक चयन गरिनेछ।
परामर्श/अडिट फर्महरूलाई प्राधिकरणले “योग्यता मापदण्ड” को आधारमा आफ्नो रोस्टरमा शर्ट लिस्ट गर्नेछ। योग्यता मापदण्ड अनुसूची-१ मा रहेको र यसलाई प्राधिकरणको वेबसाइट www.nta.gov.np मा उपलब्ध छ।
संस्थाहरूले आवेदन/प्रस्ताव पत्रहरू प्राधिकरणको इमेल ठेगाना [email protected] मा सफ्टकपीमा वा कार्यालय समयको अवधिमा कार्यालयको ठेगानामा हार्डकपीमा छिटोभन्दा छिटो बुझाउन सक्नेछन्।
अघिल्लो आर्थिक वर्षमा सूचीबद्ध भएका फर्महरूले पनि यस वर्ष पुन: सूचीबद्ध हुन नयाँ आवेदन पेश गर्नुपर्ने बताइएको छ। पेश गरिएका सबै कागजातमा अधिकृत व्यक्तिको हस्ताक्षर हुनुपर्नेछ र कागजातहरू नेपाली वा अंग्रेजी भाषामा हुनुपर्नेछ।
प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार