सीसीटीभीमार्फत् वडा कार्यालयबाटै बसपार्कको निगरानी

Technology Khabar २ कार्तिक २०८१, शुक्रबार

सीसीटीभीमार्फत् वडा कार्यालयबाटै बसपार्कको निगरानी
Global IME Bank

काठमाडौं ।

झापाको दमक वडा नं. ६ मा रहेको आधुनिक टर्मिनल भवनसहितको दमक बसपार्कको निगरानी बडा कार्यालयबाट हुन थालेको छ। पूर्व बस स्ट्यान्डमा नम्बर प्लेट रात र दिनको समयमा स्पष्ट देखिने गरी सिसी क्यामरा राखेर त्यसको वडा कार्यालयबाट नियमित निगरानी गर्न सकिने व्यवस्थापन गरिएको वडाध्यक्ष टेकबहादुर थापाले बताए।

चाडपर्वलाई समेत लक्षित गरेर १२ मा सिसी क्यामरा बसपार्क क्षेत्रमा मात्र जडान गरिएको बताइएको छ। बसपार्क क्षेत्रमा चोरी तथा अपराधका घटनासमेत हुन सक्ने भएकाले सिसी क्यामरा जडानबाट यस प्रकारका अपराध रोक्न र भएको खण्डमा त्यस्तो कार्यमा संलग्नको पहिचान गर्न सजिलो हुने थापाले उल्लेख गरे।

बसपार्कलाई सुरक्षित बनाउनका लागि आफूहरू सधैं लागिपरेको पनि उनले बताए। उनले भने, “बसपार्कको सबै क्षेत्र स्पष्ट देखिने गरी आवश्यकता अनुसार राम्रो किसिमको सिसी क्यामरा जडान गरेका छौं। यस क्षेत्रमा हुने विकृति तथा दुर्घटनालाई न्यूनीकरण गर्न पनि यस कार्यले सहयोग पुग्ने विश्वास लिएका छौं।”

वडा कार्यालयबाट नै सवारीसाधन बसपार्कमा प्रवेशदेखि निस्केकोसमेत सहजै देखिने छ। मुख्य बजार दमकको क्षेत्र यसै वडामा पर्ने भएकाले बजार क्षेत्रका धेरै ठाउँमा यसभन्दा अधि नै सिसी क्यामरा जडान गरिएको थियो।

विभिन्न चोरीका घटनामा संलग्नलाई पहिचान गरेर पक्राउ गर्न धेरै सजिलो बनेको दमक नगरपालिकाका सूचना अधिकारी समिम चुँडालले बताएका छन्।

सिसी क्यामरा हेरेर मानिसले सिटी तथा सवारीसाधनमा छाडेका सामग्री पत्ता लाग्ने गरेको, पसलमा चोरी गरेर भाग्नेको पहिचान हुने गरेकाले बडामा आएर सिसी क्यामरा फुटेज हेर्नेको सङ्ख्या बढ्दो रहेको चुँडालले बताए।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार

ताजा समाचार