Technology Khabar २२ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले ग्राहक अधिकार उल्लङ्घनको कारण ओला इलेक्ट्रिक मोबिलिटीलाई शो-कज नोटिस अर्थात् कारण देखाउ आदेश जारी गरेको छ। यसका बारेमा कम्पनीले मंगलबार एक फाइलिङमा जानकारी गराएको एएनआईन्युजले जनाएको छ।
प्राधिकरणले यो आदेश उपभोक्ता अधिकारको उल्लङ्घन, भ्रामक विज्ञापन, र अनुचित व्यापारिक अभ्यासमा संलग्न भएको आरोपमा जारी गरेको बताइएको छ। यो आदेशले विभिन्न उपभोक्ता गुनासो र चिन्तालाई सम्बोधन गरेको बताइएको छ, तर विशिष्ट आरोपहरूको विवरण खुलाइएको छैन।
कम्पनीले आफ्नो फाइलिङमा यो आदेश प्राप्त भएको कुरा स्वीकार गर्दै भनेको छ, “कम्पनीले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण समक्ष कारण देखाउ आदेशको जवाफ दिनेछ।”
उक्त कारण देखाउ आदेशले हाललाई यसको वित्तीय, सञ्चालन, वा अन्य व्यापारिक गतिविधिहरूमा कुनै तत्काल असर नगर्ने पनि कम्पनीले स्पष्ट पारेको छ।
उल्लेख्य कुरा के छ भने यस चरणमा प्राधिकरणद्वारा जारी गरिएको आदेशले कुनै जरिवाना वा आर्थिक सजाय लगाएको छैन। कम्पनीले नियामक निकायसँग सहयोग गर्ने र उठाइएका समस्याहरूलाई सम्बोधन गर्न आवश्यक स्पष्टीकरण दिने बताएको छ।
यो आदेशलाई उपभोक्ता सुरक्षासँग सम्बन्धित चिन्ताहरूलाई सम्बोधन गर्न प्राधिकरणद्वारा लिइएको औपचारिक कदमको रूपमा हेरिएको छ। कम्पनीले प्राधिकरणलाई जवाफ दिने तयारी गरिरहँदा, उद्योग र उपभोक्ताहरूले यो नियामक छानबिनको परिणामलाई नजिकबाट नियालिरहेका छन्।
भारतको बढ्दो विद्युतीय सवारी साधन बजारमा ओला इलेक्ट्रिक प्रमुख खेलाडी रहेको कम्पनीले बढ्दो चुनौतीहरूका बीच आफ्नो बजारस्थितिलाई कायम राख्न खोजिरहेको छ।
प्रकाशित: २२ आश्विन २०८१, मंगलवार