Technology Khabar २१ आश्विन २०८१, सोमबार
काठमाडौं ।
नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ।
एक कार्यक्रमका बीच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे। सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो।
केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिएपश्चात यो सीबीसीएफको पहिलो योगदान भएको र यसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ।
शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहने बताइएको छ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौं। हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं।’
यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र नभई समाजमा सकारात्मक रुपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान गरेको कम्पनीको दावी छ।
प्रकाशित: २१ आश्विन २०८१, सोमबार