भारतमा आईफोनको पार्टपुर्जा बनाउने टाटाको कम्पनीमा आगलागी, लाखौंको क्षति

Technology Khabar १३ आश्विन २०८१, आईतवार

भारतमा आईफोनको पार्टपुर्जा बनाउने टाटाको कम्पनीमा आगलागी, लाखौंको क्षति

काठमाडौं ।

शनिबार भएको एउटा ठूलो आगलागीले भारतको दक्षिणी भागमा रहेको प्रमुख टाटा इलेक्ट्रोनिक्स प्लान्टमा उत्पादन अवरुद्ध भएको छ। आगलागीमा घाइते भएका कम्तीमा १० जनालाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएकोमा दुई जनालाई अस्पताल भर्ना गरिएको छ। यो प्लान्टले एप्पलको आइफोनका लागि पार्टपुर्जा उत्पादन गर्ने गर्छ।

यो घटना एप्पलको आइफोन सप्लाई चेनलाई असर गर्ने पछिल्लो घटना हो, खासगरी जब कम्पनीले चीन बाहिर आफ्नो उत्पादन विविधिकरण गर्ने प्रयास गर्दै भारतलाई प्रमुख वृद्धि बजारको रूपमा हेरिरहेको छ।

पछिल्लो केही वर्षदेखि भारतमा एप्पलका आपूर्तिकर्ताहरूसँग सम्बन्धित यस्ता घटनाहरू बारम्बार हुँदै आएका छन्। आगलागी तमिलनाडु राज्यको होसुर सहरमा रहेको उक्त प्लान्टमा भएको हो, जहाँ केही आइफोनका पार्ट्स उत्पादन गरिन्छ।

आगो टाटा कम्प्लेक्सको अर्को भवन नजिकै लागेको थियो, जहाँ आगामी केही महिनामा पूरा आइफोनहरू उत्पादन गरिने योजना छ।

‘आगो एक भवनमा मात्र सीमित गरिएको थियो र पूर्ण रूपमा निभाइएको छ’, शीर्ष जिल्ला प्रशासनिक अधिकारी के.एम. सरयुले जानकारी दिइन्। ‘उत्पादन कहिले पुनः सुरु गर्ने भन्ने निर्णय भने अझै गरिएको छैन’, उनले भनिन्।

“यो रासायनिक जोखिम भएकाले अहिले पनि धुवाँ आइरहेको छ। खोज र उद्धार टोलीलाई भित्र गएर मूल्याङ्कन गर्न समय लाग्नेछ। हामी भोलिसम्म कुर्नुपर्नेछ,” सरयुले थपिन्।

सरयुका अनुसार बिहानको सुरुवातमा आगो लागेको बेला ५२३ जना कामदारहरू सिफ्टमा थिए र सबै कामदारहरूलाई बाहिर निकालिएको थियो र उनीहरूको अवस्था सुरक्षित रहेको पुष्टि गरिएको छ।

प्लान्ट नजिकै बस्छिन्घ टनाको प्रत्यक्षदर्शी सावित्रीले भनिन्, “बिहान ५.३० बजे (जीएमटी मध्यरात) पटाका पड्किएजस्तो ठूलो आवाज सुनेँ। त्यसपछि हामीले भवनबाट धुवाँको मुस्लो देख्यौं, र बिहान १० बजेसम्म बाक्लो धुवाँ देखिन्थ्यो।”

आपतकालीन प्रोटोकल
फक्सकनसँगै टाटा इलेक्ट्रोनिक्स भारतमा आइफोन बनाउने ठूला कम्पनीहरूमध्ये एक हो। कम्पनीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ र कर्मचारी तथा अन्य सरोकारवालाहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएको छ।

“हाम्रो प्लान्टको आपतकालीन प्रोटोकलले सबै कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता गरेको छ,” टाटा इलेक्ट्रोनिक्सका प्रवक्ताले भने।

उद्योग सुरक्षाको जिम्मेवारी पाएका वरिष्ठ जिल्ला अधिकारी जे. सरवननले भने, “हामीले क्षतिको मूल्याङ्कन गर्न भित्र प्रवेश गर्नुपर्नेछ, त्यसपछि मात्रै उत्पादन कहिले फेरि सुरु हुन्छ भन्न सकिन्छ।”

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ आश्विन २०८१, आईतवार

ताजा समाचार