विद्यार्थी भर्ना हुन नआएपछि दोलखामा सिभिल इञ्जिनियरिङ विषयको पढाई बन्द हुँदै

Technology Khabar १० आश्विन २०८१, बिहीबार

विद्यार्थी भर्ना हुन नआएपछि दोलखामा सिभिल इञ्जिनियरिङ विषयको पढाई बन्द हुँदै

काठमाडौं ।

गाउँ गाउँमै प्राविधिक उत्पादन गर्न सरकारका अभियान अन्तर्गत दोलखाका करिब आधा दर्जन विद्यालयमा सञ्चालित तीनबर्से सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द भएको छ।

अनुमति पाएका यहाँका पाँच विद्यालयमध्ये चार वटामा विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको बताइएको छ। जिरी प्राविधिक शिक्षालय जिरीमा अहिलेसम्म ४८ जनाको कोटामा छ जना विद्यार्थी भर्ना भएका छन्।

ग्रेड वृद्धिको नतिजासँगै अरू विद्यार्थी भर्ना हुन आउने झिनो आशा रहेको शिक्षालय प्रमुख कर्म शेर्पाले जानकारी दिए। उनका अनुसार तीन वर्षअघिसम्म कोटा पूरा हुने गरेको थियो। गत वर्ष २१ जना मात्रै भर्ना भए। यस वर्ष ६ जनाभन्दा बढी भर्ना हुने आशा झिनो छ।

विद्यार्थी कम हुँदा अनुदान पनि कम आउँछ। सञ्चालन सङ्कटमा पर्न थालेको छ। विद्यार्थी भर्ना नहुँदा सैलुङ गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयमा गत वर्षदेखि नै यो विषयको पढाइ बन्द भएको छ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले भने, “सुरु सुरुमा यो विषय राम्रै लाग्यो। बिस्तारै गहन अध्ययन, खर्चिलो, रोजगारी पाइनहाल्ने र पालिकाले ५० प्रतिशत विद्यार्थी स्थानीय हुनुपर्ने अन्यथा अनुदान नदिने नीति बनाएपछि झन् जटिल बन्यो।  यो विषय रद्द गरेर विज्ञान विषयको पठनपाठन सुरु गरिएको छ।”

बिगु गाउँपालिकाको बिगु पोलिटेक्निक इन्स्टिच्युटमा पनि यो विषयको पढाइ बन्द भएको छ। प्रिन्सिपल माया शेर्पाले भनिन्, “क्रमशः ४६, २२ र १२ हुँदै यसपालि विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको छ । जिल्लामा यो विषय सञ्चालन गर्न धेरै विद्यालय भए।  विद्यार्थीको सहर पस्ने क्रममा वृद्धि र तीनबर्से पढाइले पनि रुचि कम भएको देखिन्छ। दुई वर्षमै १२ उत्तीर्ण गरी विदेश जानेले पनि यो विषय ओझेलमा पर्न थालेको छ।”

सदरमुकामको कालिञ्चोक माध्यमिक विद्यालयमा पनि यो वर्ष भर्ना शून्य रहेको छ। मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा पाँच जना सम्पर्कमा आए पनि भर्ना हुन अझै आएका छैनन्।

विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले भने, “क्रमशः २७, २३ र ११ हुँदै भर्ना घट्दै गएकाले यो वर्ष पढाइ बन्द हुने बढी सम्भावना छ। थोरै विद्यार्थी हुँदा सञ्चालनमा कठिनाइ हुन्छ। सरकारले पूर्ण सहयोग गरी विशेष रुचि बढाउने वातावरण सिर्जना हुनु पर्छ।”

आजको गोरखापत्रबाट

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

ताजा समाचार