Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडलविरुद्ध अर्को मुद्दा दायर भएको छ। सुरक्षण मुद्रणका तत्कालिन कार्यकारी निर्देशक पौडेलले भ्रष्टाचार गरेको रकम हुण्डीमार्फत बाहिरी देश लगेको आरोपमा अर्को मुद्दा दायर भएको छ।
भ्रष्टाचारको कसुरमा हाल कारागारमा रहेका पौडेलविरुद्ध ‘भ्रष्टाचार गरेर कमाएको रकम हुण्डीमार्फत बाहिरी देश लगेको’ आरोपसहित अर्को मुद्दा परेको हो।
विकलले हुण्डीमार्फत रकम बाहिर पठाएको कसुरमा अनुसन्धान गर्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको थियो। उक्त टोलीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको हो।
सीआईबीको अनुसन्धानमा हुण्डीमार्फत रकम बाहिर गएको भेटिएको थियो। यसपछि पौडेलका साथमा उनकी श्रीमतीविरुद्ध पनि मुद्दा दायर गरेको बुझिएको छ।
पौडेलले अमेरिकामा रहेकी श्रीमतिमार्फत् १ करोड ४६ लाख ६६ हजार २७८ रुपैयाँ अवैध तरिकाले बाहिर लगेको ठहर गरेको थियो। दायर गरिएको मुद्दामा हिनामिना गरेको रकमको तीन गुणासम्म जरिवाना र ७ वर्षसम्म कैदको माग दावी गरिएको छ।
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार