Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका परीक्षामा विद्यार्थीले एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले सार्वजनिक सूचना जारी गरेर जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको हो।
हिजो असोज ७ गते त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो।
“विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दुरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीलाई सचेत गराउने ढङ्गबाट सूचना जारी गरिएको हो”, उनले भने।
त्रिविविका परीक्षा मोबाइल, स्मार्टवाचलगायत विद्युतीय सामग्रीको प्रयोगमा पूर्णतः रोक लगाइएको भए पनि कतिपय परीक्षा केन्द्रमा परीक्षार्थीले प्रविधिको प्रयोग गरी चोरी गर्ने गरेको सूचना पाइएकाले विद्यार्थीलाई सचेत गराइएको शिक्षाध्यक्ष केसीले बताएको राससले उल्लेख गरेको छ।
‘त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने व्यहोरा सूचित गरिन्छ”, सूचनामा उल्लेख छ।
यस हिसाबले हेर्दा एआईको प्रयोग गरेको भेटिएमा समयसीमा नकटेकाहरुको हकमा परीक्षा पूर्णरुपमा रद्द हुने र समयसीमा नाघेकाहरुले भने अर्कोएक पटक परीक्षा दिने मौका पाउने बुझिएको छ।
प्रविधिको प्रयोगले अध्ययन अध्यापनलाई अझै सहज बनाउने भए पनि त्यसको दुरुपयोगले अध्ययन, अध्यापन तथा अनुसन्धान र अन्वेषण तथा लेखनका क्षेत्रमा निकै ठूलो नकारात्मक प्रभाव पार्नसक्ने देखिएकाले विश्वविद्यालयले यस प्रकारको कदम उठाएको देखिन्छ।
यसअघि पनि विश्वविद्यालयले बौद्धिक चोरीका घटना कम गर्नका लागि ‘प्लेगारिज्म चेकर’ नामको सफ्टवेयर उपयोगमा ल्याइसकेको छ जसबाट विशेषगरी स्नातकोत्तर र त्यसमाथिका विद्यार्थीले आफ्ना शोधपत्रमा के कति अन्य व्यक्ति वा स्रोतको जानकारी हुबहु प्रयोग गरेको छ, स्रोत खुलाएको छ/छैन भन्ने जस्ता कुराहरु उक्त सफ्टवेयरमार्फत् छर्लङ्ग हुन थालेको छ।
सम्बन्धित समाचार
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?
*हेडलाइन र समाचार सम्पादित
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार