Technology Khabar ५ आश्विन २०८१, शनिबार
काठमाडौं ।
गत वर्ष चन्द्रयान ३ को सफल मिसन पछि, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बुधबार चन्द्रयान-४ को लागि केन्द्र सरकारबाट स्वीकृति प्राप्त गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ चन्द्रमाको अभियानलाई ग्रीन सिग्नल दिएको छ। यस मिसनमा चन्द्रमामा भारतीयको अवतरण र पृथ्वीमा सुरक्षित फिर्ताका लागि आवश्यक प्राविधिक क्षमताको मूल्याङ्कन गरिनेछ।
प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भनेअनुसार चन्द्रयान-४ को केन्द्रीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। उनले लेखे, “यो मिसनले अन्तरिक्ष प्रविधिमा भारतको आत्मनिर्भरता बढाउनेछ र नवीनतालाई बढावा दिनेछ।”
यस मिसनमा चन्द्रमाबाट नमूना सङ्कलन गरी विश्लेषण गरिनेछ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले चन्द्रयान ३ को सफलतापछि अर्को चरण चन्द्रमामा मानवयान पठाउने भएको बताएको भारतीय मिडियाहरुले रिपोर्टमा भनेका छन। यसको तयारीका लागि स्वीकृति दिइएको छ ।
हालै इसरोले चन्द्रयान-४ को वजन क्षमता इसरोसँग उपलब्ध सबैभन्दा शक्तिशाली रकेटभन्दा बढी हुन सक्ने बताएको थियो। यसका लागि दुई भागमा मिसन प्रक्षेपण गर्ने तयारी भइरहेको छ। यो संसारको पहिलो अन्तरिक्ष मिशन हुनेछ, जसलाई दुई भागमा प्रक्षेपण गरिनेछ र अन्तरिक्ष यान अन्तरिक्षमा जोडिनेछ। यदि यो मिसन सफल भयो भने यो इसरोको लागि ठूलो सफलता हुनेछ। यस मिसनको उद्देश्य चन्द्रमाबाट नमूनाहरू फिर्ता गर्नु हो। विश्वका तीन देश अमेरिका, रुस र चीनले मात्रै चन्द्रमाबाट नमूना ल्याउन सकेका छन्।
गत वर्ष अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारतलाई आफ्नो अन्तरिक्ष स्टेशन निर्माणमा सहयोग गर्न अमेरिका तयार रहेको बताएको थियो। अमेरिका र भारतले अर्को वर्षको अन्त्यसम्ममा एक भारतीय अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउने योजना बनाएका छन्।
यससँगै, इसरोले गगनयान मिशनको मोड्युल माइक्रोमेटियोरोइड र अर्बिटल भग्नावशेष सुरक्षा ढालको परीक्षणको लागि नासाको हाइपरभेलोसिटी इम्प्याक्ट टेस्ट (एभीआईटी) प्रयोग गर्ने सम्भावनालाई विचार गरिरहेको छ। गगनयान मिसनको लागि अन्य धेरै तयारी भइरहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ५ आश्विन २०८१, शनिबार