एनसेलले भन्यो- इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेको दाबी अनुमानमा आधारित

Technology Khabar ४ आश्विन २०८१, शुक्रबार

एनसेलले भन्यो- इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेको दाबी अनुमानमा आधारित

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको बताएको छ।

कम्पनीले बिहिबार विभिन्न मिडियाहरुमा आएको समाचारहरुको बारेमा बोल्दै अनुमानमा आधारित भएको विज्ञप्तीमार्फत बताएको हो।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु आफ्नो लक्ष्य रहेको जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

“एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ। आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौं,” कम्पनीले भनेको छ, “एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदै आएको छ। विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्ने नै छौं ।

कम्पनीले आफ्ना निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसंग सम्बन्धी हुने भएकोले सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि आधिकारिक धारणा बुझिदिन हुन अनुरोध समेत गरेको छ।

हिजो टेक्नोलोजीखबरसहितका मिडियाहरुले एनसेलले क्लासिकटेकलाई किन्ने तयारी गरेको समाचार प्रकाशित गरेका थिए।

टेक्नोलोजीखबरले स्रोतहरुमार्फत पाएको जानकारीअनुसार उक्त किनबेचको छलफल प्रारम्भिक चरणमा रहेको छ र यसको लागि नियामकसँग पनि एक चरणमा छलफल समेत गरिएको थियो।

“यसअघि एनटीएमा पनि दुबै कम्पनीका अधिकारीहरु आएका थिए तर नियामकले कम्पनीहरुले प्रस्ताव गरेको विषय अस्विकार गरेको थियो,” स्रोतले भन्यो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार