Technology Khabar ४ आश्विन २०८१, शुक्रबार
काठमाडौं ।
अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले सन् २०२३ मा दुईओटा अन्तरिक्ष प्रक्षेपणको क्रममा आफ्नो इजाजतपत्र आवश्यकताहरू पालना गर्न असफल भएर तीन सुरक्षा उल्लङ्घन गरेको स्पेसएक्सलाई आरोप लगाएको छ। एफएएको कथन अनुसार यदि पूर्ण जरिवाना लगाइयो भने स्पेसएक्सले ६,३३,००९ अमेरिकी डलरको सामना गर्नुपर्ने छ।
इजाजतपत्र उल्लङ्घनहरू स्पेसएक्सको दुई अलग प्रक्षेपणहरूसँग सम्बन्धित रहेका छन्। जस मध्ये पहिलो उल्लङ्घन सन् २०२३ को जुन १८ मा केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट लन्च भएको पीएसएन सातरिया मिशनको भागको रूपमा भएको जनाइएको छ। त्यसैगरी दोस्रो उल्लङ्घन सन् २०२३ को जुलाई २८ मा भएको थियो जसमा इकोस्टार एक्सआईभी/जुपिटर मिशनको योजनाहरू समावेश थिए।
यी दुई मामिलाहरूमा, स्पेसएक्सले क्रमशः यसको सञ्चार र विस्फोटक साइट योजनाहरूको अंश परिमार्जन गर्न अनुरोध गरेको उल्लेख गरिएको छ। एफएएद्वारा लेखिएको पत्रहरू अनुसार एफएएले यसको इजाजतपत्रमा परिमार्जनहरू जारी नगरेतापनि स्पेसएक्सले आफ्नो संशोधित योजनाहरूका साथ अगाडि बढेको इन्ग्याजेटले रिपोर्टमा उल्लेख गरेको छ।
सन् २०२३ को मे महिनामा स्पेसएक्सले नयाँ लन्च कन्ट्रोल रुम (प्रक्षेपण नियन्त्रण कक्ष) थप्न र आफ्नो सन् २०२३ को जुन १८ को प्रक्षेपणको प्रक्रियाबाट टी–२ आवर रेडिनेस पोल हटाउन अनुरोध गरेको उल्लेख गरिएको छ। एफएएले भने जुन १५ र १६ मा स्पेसएक्सलाई यसको निर्धारित जुन १८ प्रक्षेपण अघि स्पेसएक्सको इजाजतपत्रमा परिमार्जनहरू अनुमोदन नगर्ने जानकारी दिएको भएतापनि प्रक्षेपण यसको अनाधिकृत कन्ट्रोल रुम र टी–२ आवर पोल बिना अघि बढेको जनाइएको छ।
त्यसको दुई महिना पछि, स्पेसएक्सले फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा आफ्नो सन् २०२३ को जुलाई २८ को प्रक्षेपणको लागि नवनिर्मित रकेट प्रोपेलेन्ट फार्ममा अनुरोध पेश गरेको थियो। त्यस बखत पनि एफएएले परिमार्जनलाई अनुमोदन नगरेको भएतापनि स्पेसएक्सले आफ्नो निर्धारित प्रक्षेपणको समयमा फार्म प्रयोग गरेको थियो।
स्पेसएक्सले जुन १८ उल्लङ्घनको लागि १७५,००० अमेरिकी डलर र जुलाई २८ उल्लङ्घनको लागि २९३,००९ अमेरिकी डलर जरिवाना सामना गर्नेछ। साथै स्पेसएक्ससँग लिखित रूपमा आरोपहरूको जवाफ दिन ३० दिन रहेको छ।
अन्तरिक्ष कम्पनीले एफएए अधिवक्तासँग अनौपचारिक सम्मेलन आयोजना गर्न वा एफएएलाई आफ्नो मुद्दाको पक्षमा थप जानकारी पेश गर्न छनौट गर्न सक्ने इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार