एआई डाटासेन्टरका लागि १ सय अर्ब डलर उठाउन माइक्रोसफ्ट र ब्ल्याकरकबीच सहकार्य

Technology Khabar ३ आश्विन २०८१, बिहीबार

एआई डाटासेन्टरका लागि १ सय अर्ब डलर उठाउन माइक्रोसफ्ट र ब्ल्याकरकबीच सहकार्य

काठमाडौं ।

माइक्रोसफ्ट र ब्ल्याकरक लगायतका कम्पनीहरूको एक समूहले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लागि डाटा सेन्टर तथा तिनलाई चलाउन आवश्यक ऊर्जा पूर्वाधारको विकास गर्न १ सय अर्ब डलरसम्मको लगानी जुटाउन सहकार्य गरिरहेको छ।

समाचार संस्था सीएनबीसीका अनुसार यी कम्पनीहरू “ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चर इनभेस्टमेन्ट पार्टनरशिप” (जीएआईआईपी) का हिस्सा हुन्। यो जानकारी मंगलबार एक प्रेस विज्ञप्तिमा घोषणा गरिएको बताइएको छ।

अन्य सहभागीहरूमा ब्ल्याकरकद्वारा खरिद हुँदै गरेको पूर्वाधार लगानीकर्ता “ग्लोबल इन्फ्रास्ट्रक्चर पार्टनर्स” (जीआईपी) र संयुक्त अरब इमिरेट्सको टेक लगानीकर्ता एमजीएक्स छन्।

“हामी एआईमार्फत नवप्रवर्तनलाई अगाडि बढाउन र हरेक क्षेत्रमा विकास गर्न प्रतिबद्ध छौं,” माइक्रोसफ्टका सीईओ सत्या नडेलाले भने। उनले थपे, “यो पहलले वित्तीय र उद्योगका नेताहरूलाई भविष्यको पूर्वाधार निर्माण गर्न र यसलाई दिगो रूपमा सञ्चालन गर्न एक ठाउँमा ल्याउँछ।”

यो समूहले सुरूवातमा ३० अर्ब डलरको पूँजी जुटाउने लक्ष्य राखेको छ र भविष्यमा ऋण वित्तीयकरण मार्फत १ सय अर्ब डलरसम्म पुर्याउने योजना बनाएको सीएनबीसीको समाचारमा उल्लेख छ।

प्रविधि कम्पनीहरू एआई मोडेलहरू चलाउन सक्ने डाटा सेन्टरहरू निर्माण गर्न दौडिरहेका छन् जसमा ओपनएआईको च्याटजीपीटीजस्ता जेनेरेटिभ एबई मोडेलहरू सञ्चालन गर्न सक्षम एनभिडिया जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट्स) रहेका छन्।

ती जीपीयूहरूले धेरै ऊर्जा खपत गर्छन् र बढ्दो मागले नयाँ सुविधाहरू स्थापना गर्नमा चुनौतीहरू उत्पन्न गरिरहेको छ।

माइक्रोसफ्टको यो लगानी उसको अज्यू्र सार्वजनिक क्लाउडको पूर्वाधार विस्तारको लागि आवश्यक पूँजीगत खर्चमा थप भएको छ जसले ओपनएआई लगायत अन्य एआई ग्राहकहरूलाई समर्थन गर्छ।

माइक्रोसफ्टले जुलाईमा वित्तीय चौथो त्रैमासिकमा पूँजीगत खर्च, वित्त लिज अन्तर्गत प्राप्त गरिएका सम्पत्तिहरू सहित १९ अर्ब डलर पुगेको  बताएको थियो।

जनवरीमा ब्ल्याकरकले जीआईपीलाई ३ अर्ब डलर नगद र १२ मिलियन ब्ल्याकरक शेयरहरूमा खरिद गर्ने घोषणा गरेको थियो। ब्ल्याकरकले गत हप्ता यो सम्झौता अक्टोबर १ मा पूरा हुने अपेक्षा गरेको बताएको थियो।
एमजीएक्स मार्चमा स्थापित भएको थियो जसमा अबु धाबीको मुबादाला र एआई कम्पनी जी४२ संस्थापक साझेदारको रूपमा थिए।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ आश्विन २०८१, बिहीबार

ताजा समाचार