नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

Technology Khabar ३१ भाद्र २०८१, सोमबार

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

इञ्जिनीयरिङ् अध्ययन संस्थान, पुल्चोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा आज उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए।

मन्त्री दाहालले प्रविधिको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेकोसमेत बताए।

“औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपाल जस्ता मुलुकहरू परिरहेका छन् । यसले पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको मारमा परिरहेको छ”, उनले भने,“यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ। त्यसका लागि वातावरणमैत्री र नवीकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन आवश्यक छ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाईड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए।

पेट्रोल र हाईड्रोजनको प्रयोगबाट चल्ने ‘इञ्जिन’ निर्माणको नेतृत्व गर्नुभएका डा प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इञ्जिनलाई हाईड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमूनाका रूपमा इन्जिन बनाइएको बताए। यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा क्याम्पस प्रमुख डा ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताएका थिए।

सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इञ्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापासमेत सवार भएका थिए। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हाईड्रोजनविज्ञलगायतको सहभागिता रहेको थियो । रासस

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार

ताजा समाचार