Technology Khabar ३० भाद्र २०८१, आईतवार
काठमाडौं ।
एआई क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले १५० अर्ब डलर को मूल्याङ्कनमा लगानी जुटाउनका लागि छलफल गरिरहेको ब्लूमबर्ग न्युजले बुधबार रिपोर्ट गरेको छ।
साम अल्टम्यानको कम्पनीको यो कदमले ओपनएआईलाई विश्वको सबैभन्दा ठूला स्टार्टअपहरू मध्ये एकको रूपमा सुदृढ पार्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
भाइरल च्याटबट च्याटजीपीटी निर्माता ओपनएआईले लगानीकर्ताबाट ६.५ अर्ब डलर जुटाउने र बैंकहरूबाट रिभल्भिङ क्रेडिट सुविधाको रूपमा अर्को ५ अर्ब डलर ऋण लिन छलफल गरिरहेको रिपोर्टमा जनाइएको छ। ओपनएआईको नयाँ मूल्याङ्कन यस वर्षको सुरुमा एउटा टेन्डर अफरमा प्राप्त ८६ अर्ब डलरको तुलनामा ७४% बढी हुनेछ।
यसबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा कम्पनीले तुरुन्त कुनै प्रतिक्रिया नदिएको रोयटर्सले लेखेको छ। यसबाहेक ब्लूमबर्ग न्युजले पहिले उल्लेख गरे अनुसार यो लगानीको नेतृत्व गर्ने बताइएको थ्राइभ क्यापिटलले पनि टिप्पणी गर्न अस्वीकार गरेको बुझिएको छ।
कम्पनीको लोकप्रिय एआई टूल च्याटजीपीटीका कारण उत्पन्न उत्साहले ओपनएआईलाई एआई उद्योगका ठूला खेलाडीहरू मध्ये एक बनाएको छ। साम अल्टम्यानद्वारा नेतृत्व गरिएको र प्रविधि दिग्गज माइक्रोसफ्टद्वारा समर्थित यो कम्पनीले सिलिकन भ्यालीको यस क्षेत्रमा चासो पुनः बढाएको छ।
प्रकाशित: ३० भाद्र २०८१, आईतवार