Technology Khabar २९ भाद्र २०८१, शनिबार
काठमाडौं ।
एएसटी स्पेसमोबाइलको पहिलो पाँचओटा कमर्सियल स्याटलाइट अर्बिटमा पुगेका छन्।
ब्लूबर्ड्स नामक विशाल अन्तरिक्षयानलाई स्पेसएक्सको फाल्कन ९ रकेटमाथि राखेर बिहीबार नेपाली समयअनुसार अपराह्न २ बजेर ३७ मिनेट जाँदा फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको स्पेस डटकमले जनाएको छ।
फाल्कन ९ को पहिलो स्टेज प्रक्षेपण भएको साढे ७ मिनेटमा केप क्यानाभरल ल्याण्डिङ जोन १ मा ठाडै अवतरण गरेको थियो। स्पेसएक्सको मिशनसम्बन्धी विवरणका अनुसार यो बुस्टरका लागि यो १३औं प्रक्षेपण तथा अवतरण रहेको थियो।
फाल्कन ९ को माथिल्लो स्टेजले प्रक्षेपणको ५४ मिनेटपछि शुरु भएको १४ मिनेटको फैलावटको क्रममा ब्लूबर्ड स्याटलाइटलाई योजनामुताबिक नै बोकेर सफलतापूर्वक लो अर्थ अर्बिटमा लगेर परिचालन गर्यो।
ब्लूबर्डका यी पाँचऔटै स्याटलाइटमा खोलेर फैलाउँदा ६९३ वर्गफीट कभर गर्न सक्ने कम्युनिकेशन एन्टेना रहेका छन्।
१ हजार ५ सय किलोग्रामको ब्लूबर्डस मिशनले कुनै पनि व्यावसायिक अन्तरिक्षयानले यस प्रकारको उपकरणहरुको विशाल श्रृङ्खला परिचालनको कीर्तिमान बराबर गरेको छ।
यसअघि २०२२ को सेप्टेम्बरमा फाल्कन ९ मा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएको एएसटी स्पेसमोबाइलको ब्लूवाकर ३ नामक प्रोटोटाइपले यो कीर्तिमान तय गरेको थियो।
ब्लूबर्ड्सहरु अपरेशनल अर्थात् काम सञ्चालन गर्ने स्याटलाइटहरु हुन् जसलाई सोझै मोबाइल फोनहरुमा सेवा प्रदान गर्नका लागि निर्मित व्यावसायिक कन्स्टेलेशनका संस्थापक सदस्यका रुपमा लिइन्छ।
प्रकाशित: २९ भाद्र २०८१, शनिबार