Technology Khabar २८ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
माइक्रोसफ्टले आफ्नो एक्सबक्स युनिटमा ६५० कर्मचारीहरू कटौति गर्ने भएको छ। कम्पनीले लागतमा नियन्त्रण गर्ने र एक्टिभिजन ब्लिजार्ड को ६९ बिलियन अमेरिकी डलर अधिग्रहणलाई एकीकृत गर्ने प्रयासस्वरुप यो वर्षको तेस्रो कटौति घोषणा गरेको ब्लूमबर्ग न्यूजले बिहीबार रिपोर्ट गरेको छ।
यो गेमिङ उद्योगले वर्षको पहिलो पूर्वार्द्धमा सामूहिक कटौति, स्टुडियो बन्द र परियोजना रद्दहरूजस्ता विषम परिस्थितिहरुको सामना गर्नुपरेको थियो। महामारीको समयमा खेलाडी संलग्नता दरहरू उच्च भएपछि गेमरहरूले खर्चमा ढिलो रिकभरी गरेको यसको मुख्य कारण भएको उल्लेख गरिएको छ।
कर्मचारी कटौतिले प्रायः कर्पोरेट र सपोर्ट कार्यहरूलाई असर गर्ने रिपोर्टले एक्सबक्स प्रमुख फिल स्पेन्सरले कर्मचारीहरूलाई पठाएको मेमोलाई उद्धृत गर्दै बताएको छ।
उक्त मेमोलाई उद्धृत गर्दै कुनै खेल, डिभाइसहरु वा एक्सपिरियन्सहरु रद्द नगरिएको र कुनै स्टुडियोहरू पनि यी समायोजनहरूको भागको रूपमा बन्द नगरिएको रिपोर्टले थप उल्लेख गरेको छ।
माइक्रोसफ्ट र एक्सबक्सले भने तत्काल टिप्पणीको लागि रोयटर्सको अनुरोधलाई कुनै प्रतिक्रिया नजनाएको उल्लेख गरिएको छ।
माइक्रोसफ्टले गत वर्ष एक्टिभिजन ब्लिजार्डको लागि आफ्नो सम्झौता बन्द गरेको थियो र जसले भिडियो–गेमिङ बजारमा “कल अफ ड्यूटी” लगायत सबैभन्दा धेरै बिक्रि हुने गेमहरूसहित उद्योगको अग्रणी सोनीसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो क्षमता बढाएको थियो।
टेक्नोलोजी जायन्टले गत जनवरीमा एक्टिभिजन ब्लिजार्ड र एक्सबक्समा १ हजार ९ सय कर्मचारी कटौति गर्ने बताएको थियो। त्यसैगरी गत मे महिनामा एक्सबक्सले अर्कान अस्टिनसहित धेरै गेमिङ स्टुडियोहरू बन्द गरेको थियो।
प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार