Technology Khabar २८ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
युरोपेली संघका नियामकहरूले बिहीबार आफूहरू गुगलको एउटा एआई मोडेलको अनुसन्धान गर्दै रहेकाो बताएका छन्। उक्त मोडलले युरोपेली संघको कडा डाटा गोपनीयता नियमहरूको पालना गरेको छैन भन्ने चिन्ता रहेका कारण उक्त अनुसन्धान थालिएको बुझिएको छ।
आयरल्याण्डको डाटा सुरक्षा आयोगले “PaLM2” का नामले चिनिने गुगलको “पाथवेज ल्याङ्ग्वेज मोडेल २” माथि अनुसन्धान सुरु गरेको जनाएको छ।
यो २७ देशहरूको संघमा अन्य राष्ट्रिय निगरानी संस्थाहरूद्वारा गरिएको व्यापक प्रयासहरूको भाग हो जसले एआई प्रणालीहरूले व्यक्तिगत डाटा कसरी ह्यान्डल गर्छन् भन्ने कुराको छानबिन गरिरहेका छन्।
गुगलको युरोपेली मुख्यालय डब्लिनमा रहेको छ त्यसैले आइरिश नियामकले सामान्य डेटा सुरक्षा नियम (GDPR) का नामले चिनिने कम्पनीको गोपनीयता नियम पुस्तिकाको लागि प्रमुख नियामकको रूपमा काम गर्छ।
गुगलले PaLM2 को डाटा प्रशोधनले “व्यक्तिहरूको अधिकार र स्वतन्त्रतामा उच्च जोखिम” निम्त्याउन सक्ने सम्भावना छ कि छैन भनेर मूल्यांकन गरेको छ कि छैन भन्ने आयोगले जान्न चाहेको छ।
PaLM2 जस्ता ठूला भाषा मोडेलहरू एआई प्रणालीहरूको निर्माणको लागि ठूलो मात्रामा डाटा सङ्कलनहरू हुन्। गुगलले इमेल सारांशजस्ता विभिन्न जेनेरेटिभ एआई सेवाहरूमा PaLM2 को प्रयोग गर्छ। कम्पनीले नियामकको अनुसन्धानमा सहयोग गर्ने बताएको छ।
“हामी GDPR अन्तर्गत हाम्रा दायित्वहरूलाई गम्भीरतापूर्वक लिन्छौं र डीपीसीसँग रचनात्मक रूपमा काम गर्नेछौं,” गुगलले एक विज्ञप्तिमा भनेको छ।
आइरिश नियामकले यसै महिनाको सुरुमा इलन मस्कको सामाजिक मिडिया प्लेटफर्म ‘एक्स’ ले यसको एआई च्याटबोट ‘ग्रोक’ का लागि प्रयोगकर्ताको डाटा प्रशोधन स्थायी रूपमा रोक्न सहमति गरेको जनाएको छ।
एपीन्युजका अनुसार नियामकले यसलाई अघिल्लो महिना अदालतमा लगेपछि प्लेटफर्मले सार्वजनिक पोस्टहरूमा समावेश व्यक्तिगत डाटा प्रशोधन “निलम्बन, प्रतिबन्ध वा निषेध” गर्न उच्च अदालतमा आपतकालीन आवेदन दर्ता गरेको थियो।
आईरिश नियामकहरूको सम्भावित दबाबपछि मेटा प्लेटफर्मले आफ्नो युरोपेली प्रयोगकर्ताहरूले पोस्ट गरेका सामग्रीलाई आफ्नो नयाँ संस्करणको ठूलो भाषा मोडेलको प्रशिक्षणका लागि प्रयोग गर्ने योजना रोकेको थियो। यो निर्णय “दुवै बीचको गहन सहभागिता” पछि गरिएको नियामकले जुन महिनामा जनाएको थियो।
गत वर्ष इटालीको डाटा गोपनीयता नियामकले डाटा गोपनीयता उल्लङ्घनका कारण च्याटजीपीटीलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो र च्याटबटको निर्माता ओपनएआईलाई यसको चिन्ताहरू समाधान गर्नका लागि मागहरू पूरा गर्न आग्रह गरेको थियो।
प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार