Technology Khabar २७ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
सिटिजन्स बैंकले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड, नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेको दाबी छ ।
यो नयाँ समाधानले नेपालमा पहिलोपटक, क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको छ। यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने उल्लेख छ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने छ भने सिटिजन्स फोनपे क्रेडिट कार्ड द्वारा १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बताईएको छ।
यसका साथै ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि पाईने र भुक्तानीको धेरै विकल्प पाईने उल्लेख छ।
सुरुवाती अवसरमा, सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (रु. १,०००) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्दैछ। यो सीमित समयको अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने विज्ञप्तीमा लेखिएको छ।
सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं, जुन फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ। यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नविन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो।”
फोनपे का सिइओ दिवस कुमारले भने, “फोनपेमा, हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौं र नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौं। यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ। नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशत भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरू सम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएको छ।”
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार