Technology Khabar २७ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
भारतमा केन्द्र सरकारले चाँडै नै सेमिकन २.० कार्यक्रम अनावरण गर्ने केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्रीले बुधबार घोषणा गरेका छन्।
“हाल हामी सेमिकन २.० कार्यक्रम तयार गर्दैछौँ । यो सेमिकन १.० को धेरै विस्तारित रूप हुनेछ”, मन्त्री अश्विनी वैष्णवले पत्रकारहरूलाई भने। कार्यक्रमको पहिलो चरण धेरै हदसम्म पूरा भएको छ।
“सेमिकन २.० तीनदेखि चार महिनामा अनावरण हुन सक्छ। दोस्रो चरण पूर्ण मूल्य शृङ्खलामा केन्द्रित हुनेछ”, उनले भने।
भारतमा सेमिकन्डक्टर इकोसिस्टमको विकासका लागि कार्यक्रम (सेमिकन १.०) सन् २०२१ डिसेम्बर २१ मा अधिसूचित गरिएको थियो । यसको कूल परिव्यय ७६ हजार करोड रुपैयाँ थियो ।
भारत भविष्यमा सम्पूर्ण सेमीकन्डक्टर इकोसिस्टम मुलुकका रूपमा आइरहेको वैष्णवले उल्लेख गरे। “विश्वव्यापी उद्योगका नेताहरूले भारतको बढ्दो सेमीकन्डक्टर इकोसिस्टमको प्रशंसा गरिरहेका छन्”, उनले भने।
मोहालीको सेमीकन्डक्टर ल्याबको स्तरोन्नतिको योजना तयार भएको र छिट्टै मन्त्रिपरिषद्मा लैजाने पनि मन्त्रीले जानकारी दिए।
सरकारले भारतमा हालसम्म पाँचओटा सेमीकन्डक्टर युनिट स्वीकृत गरिसकेको छ । तीमध्ये दुई वटा साइटमा निर्माण भइरहेको छ भने बाँकी तीन वटाको काम चाँडै सुरु हुनेछ।
भारतको इलेक्ट्रोनिक्स क्षेत्रको मूल्य अहिले एक सय ५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारको सोही कार्यक्रममा जानकारी दिए। उनले यस दशकको अन्त्यसम्ममा देशको इलेक्ट्रोनिक्स क्षेत्रलाई पाँच सय अर्ब अमेरिकी डलरमा पुर्याउने र ६० लाख रोजगारी सृजना गर्ने बृहत् लक्ष्यको रूपरेखा प्रस्तुत गरे।
“हाम्रो लक्ष्य भनेको शत प्रतिशत इलेक्ट्रोनिक उत्पादन भारतमा हुनुपर्छ”, मोदीले भने। रासस/एएनआई
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार