Technology Khabar २५ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ। यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनु परेको गुनासो गरेका छन्। नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँच वटै वडाका स्थानीयलाई यस्तो समस्या भएको हो।
वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा सबैभन्दा बढी समस्या भएको बताए। उनले नेपाल टेलिकमको नमस्ते मोबाइलको टु जी मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी फोर जी बनाए स्थानीयलाई सुविधा पुग्ने बताए। क्याङमा पनि टेलिफोन सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नु परेको उनको भनाइ थियो।
यहाँ मोबाइल नेटवर्क मात्र होइन बिजुलीको पनि समस्या छ । सोलारमा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र चार्ज नहुँदा समस्या हुने गरेको छ।
यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेकोमा वडाध्यक्ष लामाले जोड दिए। राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै नभई कर्मचारी पनि हैरान भएका छन्।
नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनले टावर नटिप्दा काम गर्न धेरै दुःख भएको बताए। सूचना अधिकारी पाख्रिनले भने, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्ने र टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।”
उनले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताए। गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका भनेको नार्पाभूमि हो।
उनले भने, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख छ। हत्तपत्त कर्मचारी आउनै मान्दैनन्। काम गर्न पनि धेरै समस्या छ।”
वडा नं. ४ का अध्यक्ष कर्मग्यान्जे लामाले टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताए।
वडा कार्यालयमा पटक्कै टावरले काम नगर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नु परिरहेको उनले दुःखेसो पोखे। उनले भने, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ । वडामा मोबाइलको टावर छैन, वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने?”
नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताए। यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको छ। कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नु परेमा निकै समस्या हुने गरेको छ। आजको गोरखापत्रबाट
प्रकाशित: २५ भाद्र २०८१, मंगलवार