Technology Khabar २४ भाद्र २०८१, सोमबार
काठमाडौं ।
चार अर्ब वर्षअघि करिब १४४ किलोमिटर लामो एउटा भयंकर उल्कापिण्डले बृहस्पति ग्रहको सबैभन्दा ठूलो चन्द्रमा ग्यानिमिडलाई आफ्नो अक्षबाट बाहिर पठाइदिएको खुलासा भएको छ।
हालै बनाइएको एउटा सिमुलेशन अनुसार उक्त उल्कापिण्ड साढे ६ करोड वर्षअघि पृथ्वीमा राज गरिरहेका डाइनोसर सखाप पार्नेगरी बज्रिएको अन्तरिक्षको ढुंगाभन्दा १० गुणा बढी रहेको लाइभसाइन्सले जनाएको छ।
४ अर्ब वर्षअघि भएको यो भयंकर टक्कर यति विनाशकारी थियो कि यसले सौर्यमण्डलको सबैभन्दा ठूलो खाडल बनाएको थियो भने बृहस्पतिको सर्वाधिक ठूलो उपग्रहलाई नै आफ्नो अक्षबाट बाहिर हुत्याइदिएको थियो।
ग्यानिमिड बृहस्पतिको तेस्रो सबैभन्दा नजिकको चन्द्रमा हो जसलेबृहस्पतिलाई ७ दिनमा एकपटक परिक्रमा गर्छ। नासाका अनुसार यसको व्यास ५ हजार २६० किलोमिटर छ जुन सौर्यमण्डलमा रहेका अनगिन्ति उपग्रहहरुमध्ये सबैभन्दा ठूलो छ र यसको समग्र आकार बुध ग्रहको भन्दा ठूलो रहेको छ।
पृथ्वीको चन्द्रमा झैं ग्यानिमिड पनि ज्वारभाटासँग सम्बन्धित छ। यसको मतलब उपग्रहको एउटै भाग सधैं बृहस्पतिको आँधीहुरीसहितको सतहसँग आमनेसामने रहिरहन्छ। यो चन्द्रमाको हिउँले ढाकिएको सतहको १०० किलोमिटर भित्र समुद्र लुकेको अनुसन्धाताहरुको विश्वास रहेको छ।
सन् १९८० मा अनुसन्धाताहरुले उक्त चन्द्रमाको सतह घुमाउरा तथा साँघुरा कुलेसाहरुले ढाकिएको पाएका थिए। ती कुलेसाहरुले बृहस्पतितर्फ नफर्किएको उपग्रहमा उल्कापिण्डको ठक्करबाट बनेको विशालकाय खाडललाई वरिपरिबाट घेरेका थिए।
त्यहाँ बेलाबखत पुगेका नासाको न्यू होराइजनलगायत अन्तरिक्षयानले पठाएको फोटोहरुबाट चन्द्रमाको दागयुक्त सतह सौर्यमण्डल बनेको ६० करोड वर्षपछि भयंकर उल्कापिण्डको टक्करका कारण भएको पत्ता लागेको छ।
सेप्टेम्बर ३ मा साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा छापिएको हालको नयाँ अध्ययनमा अनुसन्धाता जापानको कोबे युनिभर्सिटीका ग्रह वैज्ञानिक तथा खगोलविद नाओयुकी हिराताले उपग्रहका कुलेसाहरुको आधारमा बनाइएको कम्प्युटर सिमुलेशन (उस्तै लाग्ने नाटकीय स्वरुप वा प्रक्रिया)का माध्यमबाट ग्यानिमिडमा उल्कापिण्डले बनाएको पुरातन खाडलको पुनसंरचना गरेका छन्।
यसले हिरातालाई पहिलोपटक ग्यानिमिडमा टक्कर दिएको उल्कापिण्डको आकार सूक्ष्मरुपमा गणना गर्न सघाउ पुर्यायो। यो सिमुलेशनले उक्त टक्करको प्रभावले उपग्रहलाई कसरी उसको अर्बिटबाट हुत्यायो भन्ने पनि देखाएको छ।
हिराताले शुरुको खाडल १६ सय किमी अर्थात् डाइनोसर सखाप पार्नेगरी पृथ्वीमा बज्रिएको उल्कापिण्डले बनाएको भन्दा १० गुणा बढी फराकिलो रहेको आकलन गरे।
यसको मतलब ग्यानिमिडको खाडल सौर्यमण्डलको इतिहासमै आजसम्म थाहा भएकोमध्ये सबैभन्दा ठूलो क्रेटर वा खाडल हो भन्न सकिने लाइभसाइन्सले उल्लेख गरेको छ।
तर यो घटनाको केही समयमा त्यहाँका भग्नावशेषहरुले त्यहाँका अधिकांश खाडलहरु पुरिँदै गएर यसको आकार घट्न पुगेको हिराता बताउँछन्। खाडलको आकारका आधारमा हिराताले उक्त उल्कापिण्ड १५० किलोमिटर फराकिलो अर्थात् अमेरिकाको डेलावेर राज्यजत्तिकै लामो रहेको आकलन गरेका छन्।
यसकै आधारमा पृथ्वीमा साढे ६ करोड वर्षअछि बजारिएर डाइनोसरको वंश विनाश गर्ने चिक्शुलुब उल्कापिण्डभन्दा १० देखि १५ गुणा ठूलो रहेको अन्दाज गर्न सकिन्छ।
पृथ्वीको हाल मेक्सिकोमा बज्रिएको उक्त उल्कापिण्डले पृथ्वीमा प्रभुत्व जमाएका डाइनोसर प्रजातिलगायत ८० प्रतिशत जीवको वंश विनाश गरेको थियो।
प्रकाशित: २४ भाद्र २०८१, सोमबार