Technology Khabar २४ भाद्र २०८१, सोमबार
काठमाडौं ।
रातको समयमा विशेषगरी घरबाहिर बालिने बत्तीको चहकिलो कृत्रिम प्रकाशमा धेरैबेर बसिरहँदा ६५ वर्षमुनिका व्यक्तिमा अल्जाइमर्स रोगको जोखिम बढ्ने हालै आएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।
यो अनुसन्धान अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको अनुदानमा गरिएको थियो भने गत शुक्रबार यसको प्रतिवेदन फ्रन्टियर्स इन न्यूरोसाइन्स नामक जर्नलमा प्रकाशित भएको थियो।
अनुसन्धानका क्रममा आफूले अमेरिकाका केही क्षेत्रमा रातको समयमा अत्यधिक कृत्रिम प्रकाश प्रयोग हुने गरेको र तिनै क्षेत्रमा अल्जाइमर्सका बिरामीको सङ्ख्या पनि बढी रहेको पाएको यसका अनुसन्धाताले बताएका छन्।
‘सडक बत्ती तथा विभिन्न प्रकारका प्रकाशयुक्त साइनबोर्डहरुले अपराध घटाउन, सडक सुरक्षित बनाउन तथा दृश्य परिदृश्य सुन्दर बनाउन मद्दत पुर्याउँछन् तर यस्ता एकोहोरो रुपमा उपलब्ध प्रकाशहरुले पर्यावरणीय, व्यवहारजन्य तथा स्वास्थ्यसम्बन्धी जोखिम बढाउने गर्दछन्’, उनीहरु भन्छन्।
यो अध्ययनका लागि ती अनुसन्धानकर्ताले अमेरिकाको राज्य र काउन्टीमा सन् २०१२ देखि २०१८ सम्म रातिको प्रकाशको औसत गहनताका आधारमा अल्जाइमर्स रोगको उपस्थितिको आँकडालाई विश्लेषण गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले उल्लेख गरे अनुसार यो अध्ययनका लागि स्याटलाइटको माध्यमबाट प्राप्त प्रकाश प्रदूषणको तथ्याङ्क तथा अल्जाइमर्स रोगीहरुको सङ्ख्याका लागि मेडिकेयरबाट प्राप्त रिपोर्टलाई प्रयोग गरिएको थियो।
यसबाहेक अल्जाइमर्सका सम्भाव्य कारकहरुलाई पनि अध्ययनका क्रममा चर अर्थात् भेरायबलका रुपमा विश्लेषणमा राखिएको थियो।
अल्जाइमर्स रोग धेरै देखिनुमा रातको प्रकाशको गहनता भन्दा पनि मधुमेह तथा तनावलगायतका समस्या कारकका रुपमा देखिने गरेकोमा मद्यपान, पुरानो मिर्गौलाको समस्या, डिप्रेशन, हृदयाघात तथा मोटोपनभन्दा रातको प्रकाशको गहनता अझ बढी असरकारक देखिएको उनीहरुले बताए।
६५ वर्षमुनिका मानिसहरुमा अन्य कारकभन्दा पनि रातको बत्तीको प्रकाश अल्जाइमर्स रोग निम्त्याउने मुख्य कारक देखिएको उनीहरुको भनाई छ।’यसको मतलब विशेषगरी युवावर्गलाई यो प्रकाशले पार्ने नकारात्मक प्रभाव पार्ने देखिएको छ,’ ती अनुसन्धाताले भने।
रश युनिभर्सिटी मेडिकल सेन्टरका एसोसियट प्रोफेसर तथा प्रतिवेदनका लेखकमध्ये एक डा रोबिन भोइत जुवालाले व्याख्या गरे, ‘सानै उमेरमा अल्जाइमर्स रोग लाग्न सघाउने केही जिनहरुले जैविक घटकहरुलाई प्रभाव पार्छन् र यसका कारण रातको बत्तीबाट आउने कृत्रिम प्रकाशबाट अल्जाइमर्स रोगको संवेदनशीलता बढ्न जान्छ।’
उनीहरुले युवावर्ग विशेषगरी शहरी क्षेत्रमा बस्ने भएकाले उनीहरुको जीवनशैलीले रातको समयमा बत्तीको कृत्रिम प्रकाशमा बस्नुपर्ने बाध्यता बढाउने पनि थपे।
जुवालाले वातावरणमा भएको उज्यालोको आधारमा दिमागलाई कतिबेला उठ्ने वा सुत्ने भन्ने संकेत गर्ने हाम्रो दिमागमा रहेको सर्काडियन रिदम् नामको आन्तरिक घडीलाई सबैभन्दा बढी प्रभाव पार्ने तत्व प्रकाश नै रहेको बताइनु
रातको प्रकाशमा धेरै बेर बस्नाले ती रिदमहरुलाई रोक्दछन् जसले अल्जाइमर्स रोगलाई प्रभाव पार्ने भोइत जुवालाको विश्वास रहेको छ। यो अनुसन्धानले रिदममा आउने यस्ता बाधाले त्यससँग सामना गर्ने बानी बसाउँछ जसले व्यक्तिहरुलाई रोगतिर छिटो छिटो लैजान सघाउँछ देखाएको छ।
न्यूयोर्कको माउन्ट सिनाईका अल्जाइमर्स रोगका अनुसन्धाता सामुयल ग्याण्डीले यो नयाँ पत्ता लागएको सामान्य तथ्य तार्किक छ किनकि ‘प्रकाशले सर्काडियन रिदमलाई र सर्काडियन रिदमले निन्द्रालाई नियन्त्रण गर्दछ। यसैले निन्द्रा राम्ररी नपर्नुले पनि अल्जाइमर्सको जोखिम बढाउँछ।
धेरै चम्किलो बाहीरी प्रकाश भएको क्षेत्रमा बस्नेलाई निन्द्रा कम लाग्छ, दिउँसो निन्द्रा लाग्ने क्रमलाई बढाउँछ साथै निन्द्राको गुणस्तर अर्थात् जति निदाउँदा पनि धित मर्ने खालको ‘निन्द्रा’ नपर्ने समस्या निम्त्याउने उक्त प्रतिवेदनमा उल्लेख छ।
यो अध्ययन टोलीमा नरहेका युनिभर्सिटी अफ पेन्सल्भानियाको पेन मेमोरी सेन्टरका सह निर्देशक डा जेसन कार्लाविशले भने, ‘मष्तिष्कलाई स्वस्थ राख्न, मष्तिष्कमा डिमेन्सिया उत्पन्न हुनबाट रोक्नका लागि अत्यावश्यक तत्व भनेको राम्रो निन्द्रा पर्नु हो।’
उनले साँझ र रातमा बालिने बत्तीको प्रकाशले हाम्रो निन्द्रो गुणस्तरलाई बिथोल्ने तथ्य मष्तिष्कमा डिमेसिया उत्पन्न हुने कुरासँग मेल खाने कुरा आश्चर्यजनक नभएको उनले थपे।
प्रकाशित: २४ भाद्र २०८१, सोमबार