नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले गरिन पदभार ग्रहण

Technology Khabar २३ भाद्र २०८१, आईतवार

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले गरिन पदभार ग्रहण

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त भएकी संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन्।

मन्त्रिपरिषद्को मिति २०८१ भदौ २० गतेको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१ भदौ २३ गतेको नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो।

यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८० असोज १७ को मन्त्रीस्तरीय निर्णय बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिईन्।

आज पदभार ग्रहण गर्दै टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले पदको गरिमा र सबैको आफू प्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन्।

नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।

उनले २०४९ चैत २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिईन भने उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिईन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ भाद्र २०८१, आईतवार