तस्बिर सौजन्य: रासस
काठमाडौं ।
सञ्चार आवास र सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।
समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ। भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन्।
घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०-२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ। जस्तापाताले छाएको टहरा पनि छन्। घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन। मोबाइल फोनको पहुँच छैन ।
दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार शुल्क तिर्नुपर्छ। घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताए।
उनले भने, “जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन्। देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।” बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आएका याराका टासी गुरुङले मोबाइल फोन सेवा विस्तार अतिआवश्यक भएको बताए।
“धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोबाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ”, उनले भने।
दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो। मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ।
पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसँैका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ। कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ। रासस
प्रकाशित: २३ भाद्र २०८१, आईतवार