नासाका वैज्ञानिकहरु क्रू ड्रागनमा फर्किने पक्का, तर बोइङ स्टारलाइनरको स्पेससुट ‘म्याच’ गरेन

Technology Khabar २२ भाद्र २०८१, शनिबार

नासाका वैज्ञानिकहरु क्रू ड्रागनमा फर्किने पक्का, तर बोइङ स्टारलाइनरको स्पेससुट ‘म्याच’ गरेन

काठमाडौं ।

गत जुलाईमा अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेपछि उतै फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्सको क्रू ड्रागन यानमा फिर्ता ल्याइने पक्का भएको छ।

उनीहरु बोइङको स्टारलाइनर यानमा माथि पुगेका र उनीहरुसँग स्टारलाइनरकै स्पेस सुट रहेको छ। तर उनीहरुले क्रू ड्रागनमा भने उक्त स्पेस सुट लगाउन सक्ने छैनन्।

उता थ्रस्टर बिग्रेको र हिलियम चुहिने समस्या भएको बोइङ स्टारलाइनर भने रित्तै फर्कने भएको छ। उनीहरुलाई उक्त समस्याग्रस्त यानमा पृथ्वीमा फर्काउनु जोखिमपूर्ण हुने देखेर यस प्रकारको व्यवस्था गरिएको स्पेस डटकमले उल्लेख गरेको छ।

स्टारलाइनरको स्पेस सुट क्रू ड्रागनका लागि नमिल्ने भएकाले नासाका कमर्सियल क्रू म्यानेजर स्टिभ स्टिचले पत्रकारहरुलाई भने, ‘यो अस्थायी अवस्थामा हामीसँग बुच र विलियम्सका लागि क्रू ड्रागनमा लगाउने स्पेससुट उपलब्ध हुने छैन।’

अमेरिकी अन्तरिक्षयात्रीहरुलाई आईएसएसमा पुर्याउन स्पेसएक्स र बोइङलाई जिम्मा दिइएकोमा यी दुवै कम्पनीको अन्तरिक्षयान र स्पेससुट पनि फरक प्रकारका छन्।

क्रू ८ मा स्पेससुटसहित नासाका म्याथ्यु डोमिनिक, माइकल बाराट, जिनेट एप्प तथा रोस्कस्मका अलेक्जेण्डर ग्रेबेन्किन गरी ४ अन्तरिक्षयात्री ६ महिनाको बसाईपछि फर्कँदैछन्।

सोही यानको सिटमुनी रहेको कार्गो एरियामा बसेर विल्मोर र विलियम्स पनि फर्कन मिल्ने विकल्प रहेको स्पेस डटकमले उल्लेख गरेको छ।

क्रू ड्रागन पूर्णरुपमा प्रेसराइज्ड अवस्थामा रहेकोले यी दुई यात्रु थपिनाले खासै समस्या नआउने भएपनि यान डिप्रेसराइज्ड भएको खण्डमा जोखिमयुक्त हुनसक्ने बताइएको छ।

यस प्रकारको जोखिम पहिले भइसकेको छ। रुसको सोयुज ११ का ३ जना स्पेससुट नलगाएका अन्तरिक्षयात्री बोकेर फर्कँदा अवतरणका क्रममा विस्फोट भएर सबैको ज्यान गएको थियो।

नासाले भने सन् १९८६ मा ७ अन्तरिक्षयात्रीको ज्यान जानेगरी च्यालेन्जर स्पेस शटल प्रक्षेपणका क्रममा दुर्घटना भएपछि त्यसयता आफ्ना सबै अन्तरिक्ष यात्रीलाई स्पेससुट बिना यानमा राख्ने गरेको छैन।

तर विल्मोर र विलियम्सको हकमा भने बिनास्पेससुट यानमा चढ्ने सम्भावना दिनप्रतिदिन घटेको बताइएको छ। नासाका लागि स्पेसएक्सको क्रू ९ मिशन २४ सेप्टेम्बर अगावै पठाइने भएकाले क्रू ८ ले स्टारलाईनरका अन्तरिक्ष यात्रीका लागि धेरै समय कुर्नसक्ने अवस्था छैन।

समाचारमा जनाइएअनुसार विल्मोर र विलियम्सलाई ल्याउनुपर्ने भएकाले क्रू ९ मा शुरुमा भनिएका ४ मध्ये २ जना अन्तरिक्षयात्री मात्र पठाइने भएको छ। यसबाहेक विल्मोरका लागि छुट्टै स्पेससुट पठाइनेछ र विलियम्सले भने आईएसएसमा रहेको स्पेसएक्सको स्पेससुट लगाउनेछिन्।

‘हाल हामीसँग अर्बिटमा विलियम्सलाई मिल्ने एउटा सुट छ र उनले यसलाई लगाएर पनि हेरिसकिन्’, स्टिचले भने, ‘जब नासाले यसका लागि करार पक्का गर्छ तब हामी प्रत्येक कन्ट्र्याक्टरलाई आफ्ना सुट र इन्टरफेस खोज्न लगाउँछौं र बुचका लागि क्रू ९ मा राखेर एउटा सुट पठाउँछौं।’

क्रू९ को क्रू ड्रागन यानले विल्मोर, विलियम्स, निक हग तथा अलेक्जेन्डर गोर्बुनोभलाई आईएसएसबाट पृथ्वीमा ल्याउन उद्धार विमानको काम गर्ने बुझिएको छ।

यी चारैजना छिटोमा २०२५ को फेब्रुअरीमा फर्कने योजना रहेको छ। उक्त समयसम्म विलियम्स र विल्मोरले ८ महिना बिताएका हुनेछन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २२ भाद्र २०८१, शनिबार

ताजा समाचार