Technology Khabar २१ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
भारतको एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) ले ठूलो रेकर्ड बनाएको छ। यूपीआई विश्वमा डिजिटल भुक्तानीको सबैभन्दा ठूलो माध्यम बनेको छ। यसले अमेरिका, चीन र ब्राजिलको भुक्तानी प्रणालीलाई पछाडि छोडेको भारतीय मिडियाहरुले जनाएका छन्।
डाटाले देखाएअनुसार अगस्ट महिनामा रेकर्ड १४.९६ अर्ब यूपीआई लेनदेन भएको छ जुन एक वर्षमा ४१ प्रतिशतले बढेको छ। यससँगै कुल कारोबार रकम २०.६१ लाख करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको अगस्टको तुलनामा ३१ प्रतिशतले बढी हो । यो जानकारी नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को डाटाबाट प्राप्त भएको हो।
रिपोर्टका अनुसार गत महिना दैनिक यूपीआई कारोबार ६६,४७५ करोड भारतीय रुपैयाँ पुगेको थियो। पछिल्लो चार महिनामा यो हरेक महिना २० लाख करोड रुपैयाँभन्दा बढी भएको छ।
डाटाले देखाउँछ कि जुलाईमा यूपीआईमा आधारित लेनदेनहरू २०.६४ लाख करोड भारतीय रुपैयाँ र यूपीआई लेनदेनको कुल संख्या १४.४४ अर्ब थियो।
यसका साथै हरेक महिना ६० लाख नयाँ प्रयोगकर्ताहरू यूपीआईमा सामेल भइरहेका छन्। एनपीसीआईले आगामी वर्षहरूमा प्रति दिन १ अर्ब यूपीआई कारोबार हासिल गर्ने लक्ष्य पनि राखेको छ।
ग्लोबल पेमेन्ट हब पेस्योरको डाटा अनुसार, यूपिआईले प्रत्येक सेकेन्ड ३,७२९.१ कारोबार प्रशोधन गर्यो। यो सन् २०२२ मा अपेक्षित प्रति सेकेन्ड २,३४८ कारोबार भन्दा ५८ प्रतिशत बढी हो।
प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार