Technology Khabar ८ भाद्र २०८१, शनिबार
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फसेका अन्तरिक्षयात्रीहरु बुच विल्मोर र सुनिता विलियम्स कसरी बोइङ स्टारलाइनरमा पृथ्वीमा फर्कनेछन् भन्ने घोषणा आज गर्ने भएको छ।
यसै महिनाको शुरुमा उक्त एजेन्सीले आफूहरु स्पेस एक्ससँग उसको आगामी ड्रागन क्रू मिशनमा आफ्ना फसेका दुई अन्तरिक्ष यात्रीलाई दुई सिट मिलाइदिने आग्रहका लागि छलफलमा रहेको बताएको थियो।
नासाले स्पेसएक्सको रकेटमा आफ्ना दुई अन्तरिक्षयात्री फर्कने कुराको टुंगो लगाउँदै गर्दा बोइङसँग पृथ्वीमा फर्कनका लागि स्टारलाइनर सुरक्षित छ कि छैन भनेर तथ्याङ्क पनि माग गरिरहेको बुझिएको छ।
स्टारलाइनरको ब्याट्री धेरै समय नटिक्ने भएकाले नासाले एकपटक पुनर्विचार गर्नुपर्ने देखिन्छ।
नासाले आफ्नो पहिलो घोषणामा आज अर्थात् अगस्ट २४ तारिखका दिन विलियम्स र विल्मोरको सहयोगमा इन्जिनियरहरुले थुप्रै ग्राउण्ड टेस्ट तथा सिमुलेशनमार्फत् बोइङले संकलन गरेको डाटाको अन्तिम परीक्षण गर्ने बताएको थियो।
थुप्रै ढिलाइपश्चात् गत जुन महिनामा युनाइटेड लञ्च अलायन्स एटलस भी रकेटमा राखेर स्टारलाइनरको पहिलो यात्री सहितको मिशन उडान गर्ने क्रममा विस्फोट भएको थियो।
बोइङ स्टारलाइनर अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा ८ दिन बस्ने र त्यसपछि अन्तरिक्षयात्रीद्वय विलियम्स र विल्मोरलाई लिएर पृथ्वीमा फर्कने योजनासहित पठाइएको थियो। तर उडानका क्रममा यसका पाँचवटा थ्रस्टरहरुमा खराबी आएको थियो।
शुरुमा हिलियम ग्याँस लिक भएर नासा तथा बोइङले पटक पटक प्रक्षेपण स्थगन गर्नुपरेको र पछि ठिक भएर प्रक्षेपण गरेपछि अझ ठूलो समस्यामा परेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केही महिनायता इन्जिनियरहरुले नासालाई आवश्यक डाटा उपलब्ध गराउनका लागि जमीनमै थुप्रै परीक्षण तथा सिमुलेशन गर्दै आएका थिए।
‘हामीहरु बोइङ स्टारलाइनरको उडान र डकिङका बेला देखेको सानो हिलियम चुहिने तथा थ्रस्टर खराब हुने समस्यालाई समाधान गर्ने सम्बन्धमा लिइने निर्णयमा ती डाटाहरुलाई आधार बनाउने प्रयत्न गरिरहेका छौं,’ नासाको कमर्सियल क्रू प्रोग्रामका म्यानेजर स्टिभ स्टिचले गत जुनमा भनेका थिए।
यदि नासाले आफ्ना दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्सको क्रू ड्रागनमा सिट व्यवस्था गरेर फर्काउने योजनालाई अगडि बढ्यो भने बोइङ स्टारलाइनर प्राविधिक रुपमा ठिक भएपछि रित्तै पृथ्वीमा फर्कनेछ।
तर स्टारलाइनर कहिलेसम्म पृथ्वीमा फर्कन्छ भन्ने कुराको कुनै टुंगो छैन। स्टारलाइनरको ब्याट्री सकिँदै गएको तथ्य बाहेक बोइङले यसै महिनाको शुरुवातमा उक्त अन्तरिक्षयान फर्कन ढिला गरेका कारण साढे १२ करोड डलर नोक्सानी ब्यहोर्नुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
प्रकाशित: ८ भाद्र २०८१, शनिबार