Technology Khabar ६ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट निर्मित एउटा बिरालोको भिडियो हाल सामाजकि सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको छ। यो भिडियोमा हालै करोडौं भ्यूका साथमा लाखौं फलोअरहरु थपिएका बीबीसीले जनाएको छ।
यो एआई निर्मित बिरालोको भिडियोमा यति धेरै अन्तरक्रिया र सहभागिता बढ्नुले कतै इन्टरनेट प्रयोगकर्ता वास्तविक कलाबाट विस्तारै काल्पनिकतातर्फ ढल्किएको हो कि भन्ने भान हुन्छ।
इन्टरनेटमा हालसम्म धेरै बिरालाहरू प्रसिद्ध भएका छन् तर कुनै पनि इन्टरनेट बिरालाले हाल प्रिसद्ध भएको ‘चब्बी’ जत्तिको धेरै मानिसलाई रुवाउन सक्ने खालको थिएन।
सामान्यतया: गाला पुक्क परेको भन्ने अर्थका लागि प्रयोग हुने शब्द हो चब्बी।चब्बीको भन्नासाथै यसका चित्रणहरू फरक-फरक हुन सक्छन् तर यो सधैं गोलो, सुनौलो र एआईद्वारा सिर्जित हुने गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार यहाँ वर्णन गरिएको ‘चब्बी’ प्रायः दुखद वा अचम्मको अवस्थाहरूमा संलग्न हुन्छ। उसले लाखौं मानिसलाई अन्योलमा पारेको छ, क्रोधित बनाएको छ र जितेको छ।
टिकटक र युट्युबका सामग्री निर्माताहरूले एआईद्वारा सिर्जित तस्बिरहरूको शब्दविहीन स्लाइडशोमा ‘चब्बी’ र उसको परिवारका बारेमा कथाहरू सुनाउने गरेका छन्।
टिकटकमा @mpminds नामको एकाउन्ट भएका प्रयोगकर्ताले हालै बनाएको एउटा भिडियोमा चब्बी र उसको बच्चा चब्बी जूनियर, फाटेका कपडामा देखाएर सुरु हुन्छ। चब्बीले एउटा कागजको बोर्ड समातेको छ, जसमा “Will Purr Fro Eood” लेखिएको छ (एआई इमेज जेनेरेटरहरूले प्रभावशाली ग्राफिक्स बनाउन सक्छन्, तर तिनीहरूले अक्षर र शब्दहरुलाई राम्रोसँग बनाउन सक्दैनन त्यसैकारण ती शब्दहरुको कुनै अर्थ आएको छैन।
अर्को तस्बिरहरूमा हामीले चब्बीलाई एक किराना पसलबाट चोरी गरिरहेको, प्रहरीद्वारा पक्राउ गरिएको र चिन्तित चब्बी जूनियरलाई अनिश्चित भविष्यमा छोडिरहेको देख्छौं। अन्तिम तस्बिरमा चब्बी जेलका डण्डीपछाडि उसको छोराको यादमा सपनामा देखिन्छ। यो भिडियोले ५ करोडभन्दा बढी भ्यूज तथा ६८ हजार कमेन्ट प्राप्त गरेको छ। यी कमेन्टहरु विश्वकका विभिन्न ठाउँबाट विभिन्न भाषाहरूमा लेखिएको छ।
यसरी भाइरल हुने एआई सिर्जित पात्रमा ‘चब्बी’ एक्लै भने छैन। यस्तै सामग्रीले हालका महिनाहरूमा सामाजिक सञ्जालहरूमा बाढी ल्याएको छ। गत मार्चमा फेसबुकमा कर्कलाहरूबाट बनेको येशूको अचम्मको एआई सिर्जित तस्बिरहरूको बाढी नै आएको थियो जसले दर्शकहरूलाई अन्योलमा पार्दै लाखौं भ्यूजहरू बटुल्न सफल भयो।
ती पोस्टहरू यति लोकप्रिय थिए कि सामाजिक सञ्जालको संलग्नता मानव जस्तो देखिने बोटहरूको नेटवर्कबाट आएको धेरैले अनुमान गरे । तर यी नयाँ प्रकारका बिरालाका भिडियोहरू हेर्दा इन्टरनेटले नयाँ मोड लिएको स्पष्ट हुन्छ। चब्बी र उसको एआईद्वारा सिर्जित बिरालाका साथीहरूले वास्तविक मानिसहरूको ध्यान र भावनाहरू ठूलो मात्रामा कब्जा गरिरहेका छन् भन्नेमा कुनै शंका छैन।
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार