Technology Khabar ३१ श्रावण २०८१, बिहीबार
काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा उजुरी दिएकी छिन्।
केही दिनअघि एआईको प्रयोग गरी बनाइएको डीपफेक भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो जसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर डङ्गोलले चुम्बन गरेको देखिएको थियो।
सोही विषयमा हिजो साउन ३० गते उपप्रमुखको सचिवालयमार्फत् साइबर ब्युरोलाई पत्राचार गरिएको हो। यसअघि पनि सामाजिक सञ्जालका बारेमा उक्त सचिवालयमार्फत् पत्राचार भइसकेकोले यसलाई पुन: पत्रचारका रुपमा लिइएको छ।
उक्त पत्रमा उपप्रमुख सुनिता डंगोलको नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सन्जाल फेसबुक पेजहरु हटाई त्यस्ता प्रयोगकर्ताहरुलाई आवश्यक कारवाही गर्न आग्रह गरिएको छ।
पत्रका अनुसार यसअघि गत जेठ १३ गते र असार २५ गते यसैसम्बन्धमा पत्रचार गरिसकिएको भए पनि अहिलेसम्म पनि ती समाजिक सन्जाल फेसबुक पेजहरु प्रयोगमै रहेका पाइएको छ।
तसर्थ एआई प्रविधिवाट फोटो तथा भिडियो एनिमेसन गर्नेले तिनै फेसबुक पेजहरुमा हालेर चरित्रहत्या गर्नेसम्मको काम गरेको पाइएकाले अनुसन्धान गरी ती भिडियो, फोटो तथा समचारहरुलाई सकेसम्म छिटो हटाइदिन साथै प्रयोगकर्तालाई कानुन बमोजिम कारबाही गरिदिन आग्रह गरिएको छ।
‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सन्जालमा हाली व्याक्तिको चरित्रहत्या गर्नेसम्मको कार्यहरु भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समचारहरु हटाइदिनुहुन र प्रयोगकर्तालाई कानुन बमोजिम कारवाही गरि सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु।’
के हो डीप फेक?
डीप फेक मिथ्या समाचारको निकै ठूलो र विकसित तथा खतरनाक रूप हो। यो दुष्प्रचार वा अफवाहलाई अझ द्रुत गतिमा फैलाउने नयाँ साधनका रुपमा विकसित हुँदै आएको छ।
सामान्य मिथ्या समाचारलाई सही हो वा होइन भनेर विभिन्न तरिकाले परीक्षण गर्न सकिन्छ भने डीपफेकलाई पहिचान गर्न भने सामान्य यूजरका लागि निकै मुश्किल हुन्छ।
डीप फेक ‘डीप लर्निंग’ तथा ‘फेक’ को सम्मिश्रण हो जसमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर चित्र, अडियो वा भिडियोजस्ता कुनै पनि मिडिया फाइलको नक्कली कपी तैयार गरिन्छ। यस्तो सामग्री वास्तविक फाइलजस्तै देखिन्छ र सुनिन्छ पनि।
यसले कसरी काम गर्छ?
आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर कुनै पनि व्यक्तिले बोलेका शब्दहरु, शारीरिक हाउभाउ वा अभिव्यक्ति अन्य व्यक्तिको फोटो वा भिडियोमा मिलाउन सकिन्छ।
Generative Adversarial Networks (GAN) को प्रयोग गरेर यस्ता सामग्रीलाई अझ ‘विश्वसनीय’ बनाइन्छ। अधिकांश स्थितिमा यो देखाइएको सामग्री सक्कली हो कि नक्कली हो भन्ने छुट्याउन सकिँदैन। सफ्टवेयर डेभलपमेन्ट ओपन सोर्स कम्युनिटी GitHub मा धेरै मात्रामा यस्ता सफ्टवेयर पाइन्छन् जसमार्फत डीपफेक निर्माण गर्न सकिन्छ।
सम्बन्धित समाचार
डीपफेक के हो? यो कसरी मिथ्या समाचारभन्दा कैयाैं गुणा खतरनाक हुन्छ ?
प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार