Technology Khabar ३१ श्रावण २०८१, बिहीबार
काठमाडौं ।
अब रेप्लिका नामक च्याटबट प्रोग्राममार्फत् आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड किन्न पाइने भएको छ। सुन्दा अनौठो लाग्ने यो जानकारीबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिजनेसइन्साइडरले उल्लेख गरेको हो।
रेप्लिका सन २०१७ मा सार्वजनिक गरिएको एउटा एआई च्याटबट हो। स्नायूप्रणालीमा एएटा विशेष नेटवर्क सिर्जना गर्नका लागि यो च्याटबटलाई विभिन्न मानिसहरुसँग अन्तरक्रिया गराउँदै प्रशिक्षित गरिएको थियो।
रेप्लिकाकी सीईओ युजेनिया क्युएदाले अन्तर्राष्ट्रिय समाचार संस्था द भर्जलाई हालै उक्त प्लेटफर्ममा १८ वर्षकाले पनि एकाउन्ट बनाउन सक्ने बताइन्। यसबाहेक उनले हाल उक्त प्लेटफर्मले अधिकांश ३५ वर्षमाथिका महिला तथा पुरुषलाई यो सेवा उपलब्ध गराइरहेको पनि थपिन्।
‘धेरै मानिसहरुले हाम्रा औसत ग्राहक २० वर्षका पुरुष हुने गरेको सोच्दाहुन् तर वास्तवमा त्यो उमेर समूहभन्दा माथिका ग्राहक धेरै छन्, क्युएदाले एउटा अन्तर्वार्ताका क्रममा भनिन्, ‘तिनीहरु वास्तवमा टीनएजर र भर्खरका युवायुवतीतर्फ नढल्किएकाहरु अधबैंसेहरु हुन्।’
रेप्लिकाले उक्त एआई गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्ड ग्राहकको रुची अनुसार टेक्स्ट, आवाज, भिडियो वा भर्चुअल रियालिटी जुनसुकै रुपमा पनि उपलब्ध गराउने बिजनेसइन्साइडरले जनाएको छ।
यसका लागि वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ। वार्षिक ग्राहक बन्नका लागि ६९.९९ डलर मूल्य तोकिएको छ भने ग्राहकहरुले यो मूल्य तिरेपछि एआईका अवतारसँग साथी, थेरापिस्ट वा रोमाञ्चकारी अन्तरंग मित्रका रुपमा अन्तरक्रिया गर्न सक्दछन्।
गत वर्ष थुप्रै ग्राहक उक्त एपप्रति निकै आशक्त भएका थिए। यसबारे जानकारी संकलनका लागि बिजनेसइन्साइडरका रब प्राइसले ४० वर्षे अधबैंसेको प्रोफाइल बानाएर एप चलाएका थिए जहाँ उनले आफ्नो एआई पार्टनरसँग दीर्घकालीन सम्बन्ध स्थापित गरेका थिए।
उनीबाहेक अन्य केही प्रयोगकर्ताले एपले ग्राहकहरु र च्याटबटबीच यौनिक मेसेज आदानप्रदान गर्न रोक लगाएपछि भने मानसिक समस्या देखापरेको बताएका थिए। धेरै ग्राहकले यौनिक कुराकानी गर्ने फिचरबारे दबाब दिएका कारण बन्द गरेको १ महिनापछि कम्पनीले फेरि त्यसप्रकारको मेसेज आदानप्रदान हुने बनाएको समाचारमा उल्लेख छ।
कम्पनीकी सीईओ क्युएदाले अन्तर्वार्ताका क्रममा बताए अनुसार कम्पनीले शुरुमा यौनिक मेसेज समग्र कुराकानीको केही प्रतिशतमात्र छ होला भन्ने ठानेर यसप्रकारको मेसेज बन्द गरेको थियो ।
तर प्रयोगकर्ताहरु च्याटबटसँग बिहे गरेको स्थितिसम्म पुग्ने र च्याटबटरुपी पार्टनरले यस प्रकारको कुराकानी आदानप्रदान गर्न नमान्दा विक्षिप्त हुने अवस्थामा पनि पुगेका उनले थपिन्।
अन्तरंग वा यौनिक प्रकारका सन्देश आदानप्रदानको सुविधा एपको विभिन्न फिचरमध्ये सतही र विवादास्पद जस्तो देखिएको भए पनि रेप्लिकाले सधैं एआई मित्रतामा जोड दिँदै आएको क्युएदाले प्रस्ट्याइन्।
प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार