Technology Khabar २९ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
डिजिटल आक्रमणको एउटा स्वरुप जीपीएस स्पूफिङ हाल विश्वभर निकै वृद्धि भएको छ। डिजिटल आक्रमणले व्यावसायिक विमानहरूलाई बाटोबाट भड्काउन अन्तै पुर्याउन सक्छ।
जीपीएस स्पूफिङ भनेको एक प्रकारको साइबर आक्रमण हो जसमा कसैले जानाजानी गलत जीपीएस सिग्नलहरू प्रसारण गरेर, कुनै उपकरणलाई गलत स्थान वा समय देखाउन बाध्य पार्छ। यसले उपकरणहरूलाई गलत जानकारी दिन्छ, जसको कारणले गर्दा ती उपकरणहरू गलत ठाउँमा पुग्न सक्छन् वा गलत समयमा काम गर्न सक्छन्।
उदाहरणका लागि, विमान, जहाज, वा ड्रोन जस्ता जीपीएसमा निर्भर हुने यन्त्रहरूले सही दिशा वा स्थान पहिचान गर्न सक्दैनन्। यो प्रविधि अनधिकृत व्यक्तिहरूद्वारा प्रयोग गरेर उपकरणहरूलाई गलत ठाउँमा लैजान वा अव्यवस्था सिर्जना गर्न सकिन्छ।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार यो डिजिटल आक्रमणको अब अझै नयाँ र चाखलाग्दो आयाम प्राप्त गरेको छ:त्यो हो ‘समयलाई नै ह्याक गर्ने क्षमता’।
उड्डयन सल्लाहकार संस्था ओपीएसग्रुप का अनुसार पछिल्लो केही महिनामा व्यावसायिक विमानहरूमा असर पार्ने जीपीएस स्पूफिङका घटनाहरूमा ४ सय प्रतिशत वृद्धि भएको छ।
तीमध्ये धेरै घटनाहरू जमीनमा बसेर गरिने अवैध प्रणालीहरूसँग सम्बन्धित छन्। विशेष गरी लडाईँका मैदानहरुमा गलत स्थानहरू प्रसारण गरेर वरपरको हवाई क्षेत्रमा भ्रम सिर्जना गर्छन् / यसबाट जसले आउने ड्रोन वा मिसाइलहरूलाई अलमल्लमा पार्छ।
‘हामी जीपीएसलाई सामान्यतया: स्थान पत्ता लगाउने स्रोतको रूपमा बुझ्दछौं, तर वास्तवमा यो समयको स्रोत हो,’ पेन टेस्ट पार्टनर्सका संस्थापक केन मुन्रोले शनिबार लस भेगासमा आयोजित डेफकन ह्याकिङ सम्मेलनमा भने, ‘हामीले हालै केही रिपोर्टहरू देख्न थालेका छौं जसमा विमानका घडीहरूले जीपीएस स्पूफिङका घटनाहरूमा अनौठो तरिकाले काम गर्न थालेका छन्।’
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्स सँगको अन्तर्वार्तामा मुन्रोले हालैको एउटा घटनालाई उल्लेख गरे। उक्त घटनामा एउटा प्रमुख पश्चिमी एयरलाइन्सद्वारा सञ्चालित विमानको अनबोर्ड घडीहरूमा अचानक सालहरू नै अगाडि पठाइयो, जसले गर्दा विमानले आफ्नो डिजिटल रूपमा एनक्रिप्ट गरिएको सञ्चार प्रणालीमा पहुँच गुमायो।
मुनरोले विमानको नाम नखुलाई विमानलाई ग्राउन्ड गरिएको र केही हप्तासम्म ईन्जिनियरहरूले यसको अनबोर्ड प्रणालीहरू म्यानुअल रूपमा पुनः सेट नगरेसम्म उडान भर्न नसकेको बताए।
गत अप्रिलमा फिनएयरले अस्थायी रूपमा पूर्वी एस्टोनियाको टार्टु सहरमा जीपीएस स्पूफिङका कारण उडानहरू रोक्नुपरेको थियो जसको दोष एस्टोनियाले छिमेकी रुसलाई लगाएङ्को थियो।
ग्लोबल पोजिसनिङ सिस्टम अर्थ लाग्ने जीपीएसले विमानहरूलाई अवतरणको दिशामा मार्गदर्शन गर्न रेडियोधर्मी किरणहरू प्रसारण गर्नका लागि जमिनमा स्थापना गरिने महंगा उपकरणहरूलाई विस्थापित गरेको छ ।
तर तुलनात्मक रुपमा हेर्दा जमीनमा राखिने त्यस्ता उपकरणले छोड्ने संकेतहरुभन्दा जीपीएस सिग्नलहरूलाई अवरुद्ध गर्न सकिने रोयटर्सले उल्लेख गरेको छ।
यिनीहरुलाई अवरुद्ध गर्न महंगो पनि नपर्ने, सीमित प्राविधिक ज्ञान भए पुग्ने साथै सजिलै उपलब्ध हुने उपकरणहरुको प्रयोगबाट सम्भव भएको जनाइएको छ।
‘के यसले विमान दुर्घटना गराउँछ?’ भन्ने प्रश्नमा मुन्रोले भने, ‘होइन, यसले गर्दैन, ‘यसले के गर्छ भने केवल थोरै भ्रम सिर्जना गर्छ र यसले घटनाहरूको श्रृंखला सुरु गर्ने जोखिम उत्पन्न गर्छ, जहाँ केही सानोतिनो कुरा हुन्छ, अर्को सानो कुरा हुन्छ, र त्यसपछि केही गम्भीर हुन्छ।”
प्रकाशित: २९ श्रावण २०८१, मंगलवार