Technology Khabar २८ श्रावण २०८१, सोमबार
काठमाडौं ।
इन्क्रिप्टेड मेसेजिङका लागि प्रख्यात सिग्नल एपलाई भेनेजुएला र रूसमा प्रतिबन्ध लगाइएको छ। विशेषगरी सरकारको सेन्सरशिपबाट बच्न चाहने व्यक्तिहरूका छनोटमा पर्ने यो एपमाथि प्रतिबन्ध लाग्नुलाई यी दुवै देशमा आन्तरिक असहमतिको दमनको रूपमा हेरिएको छ।
अन्तरराष्ट्रिय समाचार संस्था द भर्जका अनुसार भेनेजुएलामा यो प्रतिबन्ध देशको राष्ट्रपतीय निर्वाचनको विवादित परिणामहरूपछि गरिएको हो । राष्ट्रपति निकोलस मडुरोले सत्ता हत्याउन प्रयास गरिरहेका अवस्थामा यो एपले प्रदर्शन र गिरफ्तारीहरू निम्त्याएको छ ।
संयुक्त राज्य अमेरिकाले विपक्षी उम्मेदवार एडमुण्डो गोन्जालेजलाई निर्वाचनको विजेता भनेर मान्यता दिएपछि हाल भेनेजुयलामा यस प्रकारको अवस्था सिर्जना भएको हो।
त्यहाँको इन्टरनेट अनुगमन सेवा नेटब्लकले केही दिनअघि सिग्नल “धेरै इन्टरनेट प्रदायकहरूमा प्रयोग गर्न नसकिने” भएको बताएको थियो। मडुरोले एक्स (ट्विटर) लाई पनि ब्लक गर्न आदेश दिएका समाचारमा जनाइएको छ।
उत रूसमा भने राष्ट्रको सञ्चार नियामक रोस्कोम्नाड्जरले सिग्नलले रूसी कानुनको उल्लङ्घन गरेको बताएको छ। रूसमा हाल भीपीएनबिना नयाँ सिग्नल एकाउन्ट खोल्न सम्भव छैन। नेटब्लकका अनुसार रूसले शुक्रबार दिउँसोसम्म सिग्नल म्यासेजिङ एपको धेरै इन्टरनेट प्रदायकहरूमा प्रतिबन्ध लगाएको छ।
यस सन्दर्भमा सिग्नलले भनेको छ, ‘केही देशहरूमा सिग्नलमा पहुँच रोकिएको रिपोर्टहरू बारे हामी सचेत छौं।” यदि कसैलाई यो प्रतिबन्धले असर गरेको अवस्थामा कम्पनीले यसको सेन्सरशिप सर्कम्भेन्शन फिचर अन गर्न सुझाव दिएको छ।
नेटब्लकका अनुसार यो फिचरले रूसमा सिग्नललाई प्रयोग गर्न सहज बनाउँछ। सिग्नलले यस सम्बन्धमा तत्काल कुनै टिप्पणी/प्रतिक्रिया नदिएको द भर्जको समाचारमा उल्लेख छ।
प्रकाशित: २८ श्रावण २०८१, सोमबार