Technology Khabar २० श्रावण २०८१, आईतवार
काठमाडौं ।
म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ र्यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिए ।
उनका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो । ९२ लाख २४ हजार ९ सय ८७ रुपैयाँको लगानीमा र्यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताए ।
उनले र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ ।
“यसअघि चार/पाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, आचार्यले भने, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ ।
घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । नेवाको ३८ लाख ७१ लाख ३ सय ७, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ रुपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।
अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप ३ लाख ७५ हजार २ सय १२ नगद पनि योगदान गरेका थिए । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताइन् ।
खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उनको भनाइ छ । नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् ।
खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए । रासस
प्रकाशित: २० श्रावण २०८१, आईतवार