क्राउडस्ट्राइक आउटेजबाट १ प्रतिशतभन्दा पनि कम विण्डोज डिभाइस प्रभावित भएको माइक्रोसफ्टको दावी

Technology Khabar ६ श्रावण २०८१, आईतवार

क्राउडस्ट्राइक आउटेजबाट १ प्रतिशतभन्दा पनि कम विण्डोज डिभाइस प्रभावित भएको माइक्रोसफ्टको दावी

काठमाडौं ।

हालै भएको विश्वव्यापी क्राउडस्ट्राइक आउटेजबाट विश्वभरमा ८५ लाख हाराहारी विण्डोज डिभाइसहरु प्रभावित भएको माइक्रोसफ्टले जनाएको छ।

कम्पनीका अनुसार यो आँकडा समग्र विण्डोज उपकरणहरुको १ प्रतिशतभन्दा पनि कम हो। माइक्रोसफ्टले हालै आफ्नो ब्लगमार्फत् यस्तो जानकारी दिएको हो।

कम्पनीका इन्टरप्राइज एण्ड ओएस सेक्युरिटी विभागका उपाध्यक्ष डेभिड वेस्टनले यसबारे ब्लगमार्फत् यस्तो दाबी गरेका हुन् ।

यो आँकडा उक्त विश्वव्यापी आउटेजका बारेमा माइक्रोसफ्ट वा क्राउडस्ट्राइकका तर्फबाट दिइएको पहिलो आधिकारिक आँकडा रहेको प्रविधि सञ्चार संस्था टेकक्रञ्चले जनाएको छ।

यो समस्या क्राउडस्ट्राइकको साइबर सुरक्षा सफ्टवयर अपडेटका क्रममा आएको थियो । यसबाट लिनक्स र म्याक डिभाइसहरुमा कुनै समस्या परेको थिएन।

समग्र विण्डोज डिभाइस संख्याको तुलनामा प्रभावित डिभाइसहरुको संख्या नगण्य भएतापनि यसले विश्वव्यापी रुपमा बैंक, रिटेलर कम्पनी, रेलवे सञ्जाल तथा शेयर दलाली संस्थाहरुका काम अस्तव्यस्त बनाएको थियो । यसबाहेक विश्वभर नै एयरलाइन्स कम्पनीहरुको सेवा ठप्प भएको थियो। यसबाट नेपालमा पनि बैंक, वित्तीय संस्था लगायत दूरसञ्चार सेवा तथा कर्पोरेट संघ संस्थाहरुका कामकाजमा असहजता उत्पन्न भएको थियो।

वेस्टनले ब्लगमा लेखेका छन्, ‘प्रभावित डिभाइसको तुलनात्मक संख्या ज्यादै न्यून भए पनि विश्वभरमा रहेका थुप्रै गम्भीर सेवा प्रदान गर्ने संस्थाहरुलाई भने क्राउडस्ट्राइक आउटेजले व्यापक आर्थिक तथा सामाजिक असर पारेको थियो ।’

Sajilo Visa

प्रकाशित: ६ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया