Technology Khabar ५ श्रावण २०८१, शनिबार
काठमाडौं ।
ओपनएआईले जीपीटी–४ इन्जिनलाई थप किफायती बनाउनको लागि नयाँ कम्प्याक्ट र शक्तिशाली एआई मोडेल ‘जीपीटी–४ओ मिनी’ को घोषणा गरेको छ।
साथै यसको मूल्य १५ सेन्ट प्रति १ मिलियन इनपुट टोकन र ६० सेन्ट प्रति १ मिलियन आउटपुट टोकनमा सेट गरिएको छ, जुन जीपीटी–३.५ टर्बो भन्दा धेरै सस्तो भएको जनाइएको छ।
जेमिनी फ्ल्यास, क्लाउड हाइकु र जीपीटी–३.५ टर्बो जस्ता अन्य मोडलहरू भन्दा नयाँ ४ओ मिनी धेरै शक्तिशाली भएको ओपनएआईले दाबी गरेको छ। यसले बेन्चमार्कमा ती सबैलाई पार गर्ने र जीपीटी–४ओ जत्तिकै राम्रो नतिजाहरू उत्पादन गर्ने उल्लेख गरिएको छ।
यो सानो मोडेल विषेशगरी टेक्स्टचुअल इन्टेलिजेन्स र मल्टिमोडल रिजनिङको लागि लक्षित गरिएको कम्पनीले एक प्रेस विज्ञप्तिमा खुलासा गरेको छ। जीपीटी–४ओ मिनी रिजनिङ टास्क (तर्क गर्ने कार्यहरू) मा अन्य साना मोडेलहरू भन्दा राम्रो भएको जनाइएको छ। साथै यो म्याथमेटिकल रिजनिङ (गणितीय तर्क) र कोडिङमा उत्कृष्ट हुनुका साथै मल्टिमोडल रिजनिङमा पनि प्रभावशाली प्रदर्शन गर्ने थप उल्लेख छ।
इन्जिनमा १२८के टोकन्सको कन्टेक्स्ट विन्डो रहेको र सन् २०२३ को अक्टोबर महिना सम्मको ज्ञान पनि रहेको छ। यसबाहेक, ईमेज, भिडियो र अडियोको समर्थन भविष्यमा आउने छ।
जीपीटी–४ओ मिनीको कार्यान्वयन शुक्रबार सुरु भएको छ, साथै यसले जीपीटी ३.५ लाई फ्रि, प्लस र टिम सब्स्क्रिप्सन (सदस्यताहरू) मा अन्तिम प्रयोगकर्ताहरूको लागि प्रतिस्थापन गर्नेछ।
त्यसैगरी इन्टरप्राइज ग्राहकहरूले भने अर्को हप्तादेखि मोडेलमा पहुँच पाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ श्रावण २०८१, शनिबार