सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पुर्याउन केन्द्रित रहेको सञ्चार सचिव सुवेदीको भनाई

Technology Khabar २७ असार २०८१, बिहीबार

सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पुर्याउन केन्द्रित रहेको सञ्चार सचिव सुवेदीको भनाई

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्नेगरी काम गरिरहेको बताएका छन्।

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनतालाई गुणस्तरीय सञ्चार सेवा प्रदान गर्न सरकार राजमार्गमा टेलिफोनको नेटवर्क कभरेज विस्तारमा केन्द्रित रहेको उल्लेख गरे।

सचिव सुवेदीले सरकार नयाँ दूरसञ्चार ऐन बनाउन लागेको र सरोकारवालाको सुझावका लागि विधेयकको मस्यौदा मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी गराउँदै आवश्यक सुझावका लागि आग्रह गरे।

आजको सूचना प्रविधिको डिजिटल युगमा मोबाइल आम मानिसको अभिन्न अङ्ग बनेको र सबैको दैनिक जीवनसँग जोडिएको बताउँदै उनले मोबाइल विद्यार्थीका लागि सजिलो सिकाइको माध्यमसमेत बनेको उल्लेख गरे। सूचना प्रविधिको महत्वलाई आत्मसात् गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको सचिव सुवेदीको भनाइ थियो।

कार्यक्रममा महासङ्घका अध्यक्ष भरत भट्टराईले यो क्षेत्रका व्यवसायीले आफ्नो व्यवसायसँगै ठूलो मात्रामा सरकारलाई कर तिरिरहेको बताउँदै सरकारले त्यस्तो कर जनताको शिक्षा स्वास्थ्य जस्तो क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिए। साथै उनले मोबाइल उत्पादक कम्पनीले उपभोक्तालाई भार नपर्ने गरी वितरकलाई १० प्रतिशत ‘मार्जिन’ प्रदान गर्न सके यो व्यवसाय दिगो हुने धारणा व्यक्त गरे।

कार्यक्रममा आइटेल मोबाइल कम्पनीले महासङ्घसँग न्यूनतम १० प्रतिशत मार्जिन दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हाल मोबाइल व्यवसायीले चार प्रतिशत मार्जिनमा व्यवसाय गरिरहेका छन्। महासङ्घले सबै मोबाइल उत्पादक कम्पनीसँग १० प्रतिशत मार्जिनमा व्यवसाय गर्ने लक्ष्य राखेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाईं (सोभित)ले जानकारी दिए। रासस

Sajilo Visa

प्रकाशित: २७ असार २०८१, बिहीबार

ताजा समाचार