टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

Technology Khabar २६ असार २०८१, बुधबार

टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

काठमाडौं ।

नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ। सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ।

तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गरे।

उन्नत प्रविधि टेलिअफ्थाल्मोलोजी

‘टेलिमेडिसिन’ र ‘टेलिअफ्थाल्मोलोजी’ले विद्युतीय सञ्चार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ। बिरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रूपमा टाढा भएता पनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउने कार्यकारी निर्देशक डा मिश्रले बताए। उनका अनुसार यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधि मार्फत निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एवं उत्कृष्ट बिरामी सेवा प्रवाहलाई जोड दिनेछ।

सङ्घका अनुसार नेपालमा करिब ६८ लाख मानिस कुनै न कुनै आँखासम्बन्धी समस्यायाबाट ग्रसित छन्। परियोजनाको अन्त्यमा सङ्घद्वारा सञ्चालित १५ आँखा उपचार केन्द्रमार्फत करिब चार लाख ३३ हजार बिरामीलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैगरी ८२ हजार आँखाका बिरामीलाई टेलिअफ्थाल्मोलोजीमार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने छ।

परियोजनाले १५ नेत्र सहायक र छ नेत्ररोग विशेषज्ञलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउँदै समुदायलाई सशक्त बनाउने अपेक्षा गरिएको छ। साथै परियोजनाले थप १५ आँखा उपचार केन्द्र र दुईवटा विशिष्टिकृत अस्पताललाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ।

परियोजनाले दिगो विकासका लक्ष्यहरू ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने महासचिव चन्दले जानकारी दिए। यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनसमते सहयोग पुर्याउने अपेक्षा समेत लिइएको छ। रासस

Sajilo Visa

प्रकाशित: २६ असार २०८१, बुधबार