शाओमीको नयाँ स्मार्ट फ्याक्ट्रीले दिनको २४ सै घण्टा मानिसहरू बिना काम गर्न सक्ने

Technology Khabar २६ असार २०८१, बुधबार

शाओमीको नयाँ स्मार्ट फ्याक्ट्रीले दिनको २४ सै घण्टा मानिसहरू बिना काम गर्न सक्ने

काठमाडौं ।

शाओमीका सीईओ लेई जुनले वेइबोमार्फत बेइजिङको चाङपिङमा रहेको नयाँ पुस्ताको स्मार्टफोन उत्पादन गर्ने कारखाना चाँडै नै सञ्चालनमा आउने घोषणा गरेका छन्।

सीईओले फ्याक्ट्रीको परिचय दिँदै भिडियो पनि सार्वजनिक गरेका छन्।

माइक्रोन–लेभल डस्ट रिमुभलको साथमा स्वचालित कारखाना

नयाँ फ्याक्ट्री ‘डार्क फ्याक्ट्री’ हुनेछ भने यसले मानिसविना २४ सै घण्टा स्वचालितरुपमा सञ्चालन गर्नसक्ने जनाइएको छ। साथै, कारखानामा मिसिनहरूले एकअर्कालाई सहयोग गर्न सक्ने थप उल्लेख गरिएको छ।

त्यसैगरी कारखानाले माइक्रोन–लेभल डस्ट रिमुभल (माइक्रोन–स्तरको धुलो हटाउने) को साथमा आफैले धुलो मुक्त वातावरण सिर्जना गर्न सक्नेछ।

कारखानाको उत्पादन गुणस्तर स्व–विकसित इन्टेलिजेन्स मेसिनहरूद्वारा नियन्त्रण गरिनेछ। साथै उत्पादन प्रक्रियाले हरेक सेकेन्डमा एउटा स्मार्टफोन युनिट उत्पादन गर्न सक्ने दाबी गरिएको छ।

प्रमोशनल भिडियोका अनुसार, स्मार्ट फ्याक्ट्री शाओमीको भविष्य अन्वेषण गर्नको लागि एउटा सानो कदम मात्र हो, जुन भर्खरै सुरु भएको उल्लेख गरिएको छ।

शाओमीले नयाँ उत्पादन प्रक्रियाको विकासका लागि २.४ बिलियन युआन लगानी गरेको छ। साथै चाङपिङमा रहेको नयाँ कारखानाले ८१ हजार वर्ग मिटरको निर्माण क्षेत्र ओगटेको छ।

यसलाई १० मिलियन फ्ल्यागशिप स्मार्टफोनहरूको वार्षिक उत्पादन क्षमताको साथ “राष्ट्रिय स्मार्ट निर्माण बेन्चमार्क उद्यम” को रूपमा पनि प्रमाणित गरिएको उल्लेख छ। यो कारखानाले आगामी फोल्डेबल फोन– शाओमी मिक्स फोल्ड ४ र शाओमी मिक्स फ्लिपको उत्पादनलाई सम्हाल्ने छ।

चिनियाँ टेक जायन्ट शाओमीले धेरै समयदेखि आफ्नो उत्पादन प्रक्रियामा स्वचालन प्रयोग गरिरहेको छ। बेइजिङको यिझुआङमा रहेको शाओमीको स्मार्ट फ्याक्ट्री सन् २०१९ को सुरुदेखि नै उत्पादनको लागि तयार भएको थियो।

अघिल्लो रिपोर्ट अनुसार, कम्पनीको पहिलो बुक–स्टायल (पुस्तक–शैली) फोल्डेबल, शाओमी मिक्स फोल्डको उत्पादन पहिलो चरणको स्मार्ट कारखानाले पूर्ण रूपमा ह्यान्डल गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ असार २०८१, बुधबार