‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

Technology Khabar २५ असार २०८१, मंगलवार

‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले चीनको ‘अलि पे’ र श्रीलङकाको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि निकट भविष्यमै सम्झौता हुने बताए।

उनले भारतसँग डिजिटल कारोबार सुरु भएसँगै कारोबार बढेकोसमेत उल्लेख गरे। नेपालमा भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नगद बोक्न मिल्ने प्रावधान पाँच सयभन्दा ठूला दरका नोटका लागि मात्रै भएको र त्योभन्दा साना दरका नोटको हकमा यो व्यवस्था लागू नहुने स्पष्ट पारे। साथै नेपालमा ठूला दरका भारतीय नोट कारोबार खुलाउने बारे भारतीय रिजर्भ बैंकसँग छलफल चलिरहेको उनले बताए।

आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा तथ्य, तथ्याङ्क र व्यवहारको वस्तुनिष्ठ विश्लेषण गरिने गभर्नर अधिकारीले उल्लेख गरे। निजी क्षेत्रले चालु पुँजी कर्जा मार्गदर्शनको व्यवस्था खुकुलो बनाउनुपर्ने माग राख्दै आएकामा साना ऋणीलाई यो मार्गदर्शनले समस्या नपारेको उनको भनाइ छ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेपनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितीमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए। रासस

Sajilo Visa

प्रकाशित: २५ असार २०८१, मंगलवार