भारतका निजी अपरेटरहरुले मूल्य बढाएपछि सामाजिक संजालमा ‘बहिष्कार’ को चर्चा चुलियो

Technology Khabar २५ असार २०८१, मंगलवार

भारतका निजी अपरेटरहरुले मूल्य बढाएपछि सामाजिक संजालमा ‘बहिष्कार’ को चर्चा चुलियो

काठमाडौं ।

भारतका ठूला टेलिकम कम्पनीहरु जियो, एयरटेल र भीको बढेको मूल्य यसै महिनादेखि लागू भएको छ। यसपछि अब भारतीयहरुले रिचार्ज गर्दा आफ्नो बजेटमा कुन योजना आउँछ हेर्नुपर्ने भएको छ।

दूरसञ्चार कम्पनीहरूले एकैसाथ मूल्यवृद्धि गरेपछि भारतीय जनतामा चर्को आक्रोश बढेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

यस बारेमा, मानिसहरूले आफ्नो रिस पोखेका छन् र एक्स (पहिले ट्विटर) मा #BoycottJio ट्रेन्डिङ गरिरहेको छ। धेरै प्रयोगकर्ताहरू अब भारतीय सरकारी टेलिकम अपरेटर बीएसएनएलको सेवा अपनाउने कुरा गरिरहेका छन्। यसै कारणले, #BSNL_ki_Ghar_Wapsi X मा ट्रेन्डिङ भइरहेको छ, जसमा अहिलेसम्म १५,००० भन्दा बढी मानिसहरूले यस ह्यासट्यागको साथ पोस्ट गरेका रिपोर्टमा उल्लेख छ।

एक्समा, प्रयोगकर्ताहरूले बीएसएनएलको प्रशंसा गर्दै धेरै पोस्ट गरिरहेका छन्। कसैले ३ दिनमा लाखौं मानिसहरूले आफ्नो सिम बीएसएनएलमा पोर्ट गरेको जानकारी पोस्ट गर्दैछन। त्यसैले केही प्रयोगकर्ताहरूले बीएसएनएलका योजनाहरू निजी कम्पनीहरूसँग तुलना गरिरहेका छन्।

मूल्यवृद्धिसँगै जनताको आक्रोश

जियोले गत महिना जुनमा आफ्नो रिचार्ज प्लान बढाउने घोषणा गरेको थियो। त्यसको तुरुन्तै, पछि एयरटेल र भीले पनि आफ्नो योजनामा ​​वृद्धिको घोषणा गरे भने बढेको मूल्य जुलाई ४ देखि पुरै लागू भएको छ।

जियोले सबैभन्दा बढी मूल्य बढाएको छ। कम्पनीले एकै पटक १२ देखि २५ प्रतिशतसम्म मूल्य बढाएको छ। जसमा एयरटेलले ११ देखि २१ प्रतिशत र भीले १० देखि २१ प्रतिशत मूल्य बढाएको छ। जियोलाई लिएर धेरैजसो मानिसको आक्रोश सामाजिक सञ्जालमा व्यक्त भइरहेको छ। यही कारणले गर्दा मानिसहरु अहिले बीएसएनएलतिर फर्किरहेका छन्।

निजी कम्पनीहरूले बढाएको मूल्य पछि, अब भारतीयहरू सस्तो र किफायती विकल्पहरू खोजिरहेका छन्, जसमध्ये बीएसएनएलको सेवा पहिलो रोजाईमा परेको हो।

Sajilo Visa

प्रकाशित: २५ असार २०८१, मंगलवार