राष्ट्रिय परिचयपत्र तयार भएर आएपनि लिने आएनन्

Technology Khabar २५ असार २०८१, मंगलवार

राष्ट्रिय परिचयपत्र तयार भएर आएपनि लिने आएनन्

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा ५५ हजार ९८६ राष्ट्रिय परिचयपत्र बनेर आए पनि दुई हजार ६६९ जनाले मात्रै परिचपत्र लिएका छन्।

घुम्ती टोलीमार्फत र प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म विवरण दर्ता गराएकाको सङ्ख्या एक लाख ९७ हजार ११३ जना रहेको प्रशासनले जनाएको छ। घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जना र प्रशासनबाट ६७ हजार ७५४ जनाको विवरण दर्ता भएको छ।

घुम्ती टोलीमार्फत विवरण दर्ता गराएकाको परिचयपत्र बनेर नआएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएकामध्ये ५५ हजार ९८६ परिचयपत्र बनेर आएको उनी बताउँछन्। परिचयपत्र बनेर आएको र लिन आउनुहोस् भन्ने म्यासेज सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गए पनि लिन आउने भने न्यून रहेको उनको भनाइ छ।

विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको भए पनि यसको महत्व नबुझेर लिन नआएको हुन सक्ने गैरेले बताए।

कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देशभन्दा बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने गैरेको भनाइ छ।

पछिल्लो समयमा परिचयपत्र लिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनुपर्ने र औँठाछाप (फिङ्गर प्रिन्ट) दिनुपर्ने भएकाले एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ।

विसं २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए। ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भएपश्चात् जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो। गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २५ असार २०८१, मंगलवार

ताजा समाचार