सामुदायिक विद्यालयको सुधार गर्न प्रविधिमैत्री बनाउन लहानको जोड

Technology Khabar २५ असार २०८१, मंगलवार

सामुदायिक विद्यालयको सुधार गर्न प्रविधिमैत्री बनाउन लहानको जोड
सांकेतिक तस्बिर

काठमाडौं ।

जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ।

नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९/८० मा रु छ करोड र यस चालु आवमा रु आठ करोड विनियोजन गरेको थियो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न आफूले जोड दिएको बताउनुभयो । त्यसका लागि यसवर्ष तीन सय ३० डेक्स, वेञ्च र ३६ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको बताउँदै चौधरीले विद्यालयका आवश्यकता पहिचान गर्नुका साथै सघन अनुगमन गरेर विद्यालयको शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

‘‘शिक्षाको विकासलाई प्राथमिकतामा राखिएको छ । एकविद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ जना स्वयंसेवक शिक्षक भर्ना गरिएको छ । लगानीअनुसार सामुदायिक विद्यालयमा यस वर्ष एसइईको परिणामसमेत सन्तोषजनक आएको छ”, चौधरीले भने, “नगरका ५९ ओटै सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर तथा भौतिक अवस्था सुधारका लागि प्रयत्नशील रहेका छौँ ।’’

नेपाल शिक्षक सङ्घ लहानका अध्यक्ष नारायण साह फर्निचर, कम्प्युटरको व्यवस्था, पर्खाल तथा कक्षा कोठा निर्माण कार्यमा लहान नगरपालिकाले गरेको लगानीबाट सामुदायिक विद्यालयमा राम्रो सुधार हुँदै गएको बताए। रासस

Sajilo Visa

प्रकाशित: २५ असार २०८१, मंगलवार

ताजा समाचार