स्वचालित मेसिनबाट ल्याब रिपोर्ट लिन सकिने

Technology Khabar २४ असार २०८१, सोमबार

स्वचालित मेसिनबाट ल्याब रिपोर्ट लिन सकिने

काठमाडौं ।

पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट अब स्वचालित मेसिनबाट लिन पाइने भएको छ। एक हप्तादेखि परीक्षणका रूपमा सञ्चालनमा रहेको सो मेसिनको सफल परीक्षण भएको हो।

बागमती प्रदेश सरकार मातहतमा सञ्चालित अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट मेसिनबाट स्वतः लिन सकिने व्यवस्था गरिएको छ।

बागमती प्रदेशमै पहिलो पटक अस्पतालकै लगानीमा स्वचालित मेसिन सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए।“बिरामीलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको हो,” उनले भने।

एटिएम मेसिन जस्तै देखिने सेल्फ सर्भिस मेसिनबाट बिरामीले सहज रूपमा सेवा लिनका लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको डाक्टर ज्ञवालीले बताए। मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट छापिने छ।

सो मेसिनबाट यसका अतिरिक्त स्वास्थ्य बिमा अन्तर्गतका बिरामीले स्वास्थ्य बिमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बिमा सक्रिय भए/नभएको अवस्था, म्याद सकिने मिति, बाँकी रकमसमेत हेर्न मिल्ने व्यवस्था रहेको मेसु डा. ज्ञवालीले बताए।

यसका अतिरिक्त सेवाग्राही/बिरामीले अस्पतालका विषयमा आफ्नो गुनासो र सुझावसमेत पब्लिक पोर्टलबाट राख्न सकिने गरी काम अगाडि बढाइएको छ। रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले अस्पताललाई सेवा प्रदान गर्ने भवन अभाव रहेको भन्दै सङ्घ र प्रदेश सरकारले बजेट उपलब्ध गराए स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्ने जानकारी दिए। गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २४ असार २०८१, सोमबार