Technology Khabar २१ असार २०८१, शुक्रबार
काठमाडौं ।
शाओमीका स्मार्टफोनहरु नेपाली बजारमा पछिल्लो समय बिक्नै छोडेपछि कम्पनीले विभिन्न योजनाहरु सार्वजनिक गर्न शुरु गरेको छ।
मोबाइल बिक्रेताहरुकाअनुसार अहिलेको समयमा कुनै पनि मोबाइल कम्पनीहरुले अफर ल्याउने गर्दैनन्। विशेषगरी वर्षाको समय भएको र ग्राहकहरुको चहल पहल कम हुने हुँदा वर्षा सकिएपछि मात्र अधिकांश स्मार्टफोन कम्पनीहरुले चाडवाड लक्षित गरेर योजनाहरु ल्याउने गरेका छन्।
तर कुनै समय नेपाली बजारमा प्रमुख ब्राण्ड रहेको शाओमीले बजारमा फोन बिक्नै छोडेपछि मध्य मनसुनको समयमा अफर ल्याएको छ।
पाको, न्यूरोडमा मोबाइल फोन पसल संचालन गरिरहेका एक व्यवसायीले पछिल्लो समय फोन बजारको अवस्था ठिकै भएपनि शाओमीका फोनहरुको माग कम भएको बताए।
“अहिले वर्षाको समय पनि हो, त्यसैले मानिसहरुको बजारमा चहलपहल पनि कम हुन्छ। र शाओमीका फोनको माग पनि निकै कम छ,” उनले भने। उनले शाओमीका फोनहरु पछिल्लो केहि समयदेखि स्टकमा बस्न थालेको समेत जानकारी दिए।
बजारमा फोन बिक्नै छोडेपछि, सोही विषयलाई ध्यानमा राखेर शाओमी नेपालले ग्राहकहरुको लागि रेडमी नोट सिरिजमा जुलाई ज्याकपट अफर शुरु गरेको हो। जबकी रेडमी सिरिज कम्पनीको सबैभन्दा धेरै बिक्री हुने फोन सिरिज हो।
शाओमी नेपालले ल्याएको सो अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा रु.४००० सम्म छुट प्राप्त गर्न सक्ने बताईएको छ।
ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा यी छुटहरू ३१ जुलाईसम्म पाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २१ असार २०८१, शुक्रबार