भारतमा बेचिने स्मार्टफोन र ट्याब्लेटका लागि समान चार्जर नियम अर्को वर्षदेखि अनिवार्य हुने

Technology Khabar १२ असार २०८१, बुधबार

भारतमा बेचिने स्मार्टफोन र ट्याब्लेटका लागि समान चार्जर नियम अर्को वर्षदेखि अनिवार्य हुने

काठमाडौं ।

भारतमा स्ट्याण्डर्ड चार्जिङ कनेक्टरको नियम देशमा बिक्री हुने स्मार्टफोनहरूमा लागू हुन सक्ने भएको छ। यो यूएसबी टाइप-सी पोर्ट हुन सक्छ। नयाँ नियमले प्रयोगकर्ताहरूलाई धेरै डिभाइसहरू चार्ज गर्न एकल केबल प्रयोग गर्ने सुविधा दिने लक्ष्य राखेको छ। यसले ई-वेस्ट कम गर्नेछ।

युरोपेली संघ (ईयू) मा यस वर्षको अन्त्यबाट यस प्रकारको नियम लागू हुनेछ। भारतमा पनि केन्द्र सरकारले आगामी वर्षदेखि यो नियम लागू गर्न सक्नेछ।

एक मिडिया रिपोर्टमा भनिएको छ कि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले चाँडै उपकरण निर्माताहरूलाई स्मार्टफोन र ट्याब्लेटमा समान स्ट्याण्डर्ड (मानक) चार्जर उपलब्ध गराउन निर्देशन दिन सक्छ। ल्यापटप पनि यस निर्देशनमा समावेश गर्न सक्नेछ तर यसको लागि थप समय दिईने बताएको छ। यसको लागि सन् २०२६ सम्मको अवधि दिईने उल्लेख छ। यो चार्जिङ पोर्ट यूएसबी टाइपसी हुन सक्छ।

रिपोर्टकाअनुसार, यो नियम स्मार्टवाच जस्ता पहिरनयोग्य यन्त्र (वेयरेबल डिभाइस) हरूमा लागू हुने छैन।

यो नियम भारतमा आगामी वर्षको जून महिना लागु हुन सक्नेछ। यसको उद्देश्य उपकरणहरूमा प्रयोग हुने केबलहरूका कारण ई-वेस्टलाई कम गर्नु हो। इयूले स्मार्टफोन, हेडफोन, ट्याब्लेट, क्यामरा, ह्यान्डहेल्ड भिडियो गेम कन्सोल र पोर्टेबल स्पिकरहरूको लागि मानक चार्जिङ पोर्टहरू पनि अनिवार्य गरेको छ। यस नियमका कारण, अमेरिकी उपकरण निर्माता एप्पलले गत वर्ष आफ्नो स्वामित्वमा रहेको लाइटनिङ पोर्टलाई यूएसबी टाइप-सीसँग आईफोन १५ सिरिजमा प्रतिस्थापन गर्न बाध्य भएको थियो।

सरकारले नोभेम्बर २०२२ मा उद्योग सरोकारवालाहरूसँगको बैठकपछि चार्जिङको मानक विधिको रूपमा यूएसबी टाइप-सी अपनाउन सहमत भएको थियो। यस बैठकमा स्मार्टफोन, ल्यापटप र ट्याब्लेट जस्ता यन्त्रहरूमा चार्जिङ पोर्टका रूपमा यूएसबी टाइप-सी प्रयोग गर्ने निर्णय गरियो। तर, यो नियम लागू गर्ने समयसीमा भने दिइएको छैन ।

भारतीय सरकारले चाँडै साझा चार्जरको नियम घोषणा गर्न सक्छ। यस नियमको पालना सुनिश्चित गर्न थप ६ महिनाको अवधि पनि दिन सक्नेछ। यस नियमको सुरुमा केही डिभाइस निर्माताहरूले विरोध गरेका थिए तर पछि सरकारको दबाबपछि उनीहरू यसलाई स्वीकार गर्न राजी भएका थिए।

Sajilo Visa

प्रकाशित: १२ असार २०८१, बुधबार