टेरामोस प्रकरण- अख्तियारले तीन पूर्वमन्त्रीसहित डेढ दर्जनका विरुद्ध मुद्दा दायर गर्ने तयारी

Technology Khabar ९ असार २०८१, आईतवार

टेरामोस प्रकरण- अख्तियारले तीन पूर्वमन्त्रीसहित डेढ दर्जनका विरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीहरु र मुख्यसचिव सहितका विरुद्ध (टेरामोस वा टेरामोक्स समेत भनिने) प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको छ।

अख्तियार सम्बद्ध स्रोतकाअनुसार पूर्व सञ्चार मन्त्रीहरु ज्ञानेन्द्र बहादुर कार्की, मोहन बहादुर बस्नेत तथा गोकुल बास्कोटासहितलाई समावेश गरेर टेरामोसको मुद्दा दायर गर्ने तयारी गरेको हो।

कार्की र बस्नेत नेपाली कांग्रेसका वर्तमान सांसद हुन् भने बास्कोटा एमालेका सांसद हुन्।

केहि समयदेखि पूर्व मन्त्रीहरुलाई विपक्षी बनाउने वा नबनाउने भन्ने विषयमा अख्तियार आयुक्तहरुबिचनै मतभेद रहेको समाचार आएको थियो। जसले गर्दा कर्मचारीहरुलाई मात्रै मुछेर मुद्दा दायर गर्न लागिएकोमा चर्को विरोध भएको थियो।

तर स्रोतले भने नयाँ निर्णयअुनसार मन्त्रीहरुलाई समेत समावेश गरेर मुद्दा हाल्न लागिएको बतायो।

यसका साथै अख्तियारले मुख्यसचिव डा बैकुण्ठ अर्याललाई समेत तत्कालिन सञ्चार सचिव हुँदा गरेको निर्णयको आधारमा मुद्दा दायर गर्ने भएको बताईएको छ।

यो बिचमा राजनीतिक तहमा मन्त्रीहरु र मूख्यसचिवलाई बचाउन भरमग्दुर प्रयास भएको बताईएको छ। त्यसैले अख्तियारले उक्त विबरणलाई गोप्य राखेको स्रोतको दाबी छ।

“तर हाल सरकारमा रहेको एमालेले समेत आफ्ना नेताको विरुद्धमा मुद्दा दायर गर्दैमा फरक नपर्ने बताएसँगै पूर्वमन्त्रीहरु समेतको नाम विपक्षीमा राखिने भएको हो,” स्रोतले दाबी गर्यो।

यस्तै अर्को स्रोतले भने बास्कोटाले कुनै ठूलो निर्णय नगरेको हुँदा समेत एमाले सकारातम्क देखिएको बताएको छ।

“काँग्रेसका दुई सांसद पर्ने र आफ्नो एक मात्र सांसद पर्ने भएपछि कुरो अगाडि बढेको हो,” दोस्रो स्रोतले भन्यो।

तर यसको थप पुष्टि भने मुद्दा दायर गरेपछि मात्र हुने देखिन्छ।

गत सातासम्म आयुक्तहरु विभाजित भएसँगै यसले राजनीतिक तहलाई जोगाउने प्रयास अख्तियारले गरेको भन्ने देखिने अवस्था रहेको थियो। जसले गर्दा मुख्य सचिव र सचिवहरु पनि जोगिने अस्वस्था आउने देखिएको भन्दै पूर्वमन्त्रीहरुलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरिने बताईएको हो।

यस विषयमा पूर्वमन्त्रीहरु सहित नेपाल दूरसञ्चार प्राधिकरणका करिब डेढ दर्जन कर्मचारीहरु विरुद्ध मुद्दा दायर हुनेछ। जसमा अहिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा निलम्बनमा परेकाहरुसहित थप कर्मचारीहरुको नाम रहेको स्रोतले बताएको छ।

Sajilo Visa

प्रकाशित: ९ असार २०८१, आईतवार