Technology Khabar ८ असार २०८१, शनिबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक मनाउने तयारीमा लागिपरेको बताएकी छन्।
प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गरिन्।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौं भित्र्याउन सकिने बताईन।
उनले आगामी आर्थिक वर्षको बजेट प्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताईन्।
“सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालयलगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ,” मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारी बारेको जिज्ञासामा उनले भनिन्।
उनले भनिन, “१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रुपान्तरण गर्नेगरी काम गरिरहेका छौँ।”
मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताइन्। रासस
प्रकाशित: ८ असार २०८१, शनिबार